Logo

मिटरब्याज पीडितले आज प्रधानमन्त्रीलाई भेट्दै, वार्ता सहमतिनजिक



काठमाडौं, १८ चैत । ११ दिनको पैदल यात्रा गरेर केही दिनदेखि राजधानीमा रहेका मिटरब्याज पीडितले आज बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्दै छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलालाई मिटरब्याज पीडितका प्रतिनिधि संघर्ष दाहालले यसको जानकारी दिएका हुन् ।
‘तीन दिन लगातार वार्ता भइसक्यो । आज बिहान ११ बजे फेरि बस्ने कुरा छ । वार्तामा सरकार सकारात्मक छ । आजै सहमति हुन सक्छ । त्यसभन्दा पहिले बिहान ८ बजे प्रधानमन्त्रीसँग भेट गर्दैछौं,’ उनले भने ।
दाहालका अनुसार सरकारले जिल्ला प्रशासन कार्यालयमा उजुरी लिने भने पनि प्रमुख जिल्ला अधिकारीको व्यस्तताका कारण मिटरब्याज पीडितको समस्या समाधानका लागि उच्चस्तरीय आयोग बनाउने सहमति भएको छ । उनले भने, ‘पैसा तिरेर पनि कतिपय मिटरब्याजपीडितको घरबार गुमेको छ । कतिपयले पैसा तिरेर पनि जेलको पुर्जी लिएर भागिरहनुपरेको छ । त्यसैले उच्चस्तरीय आयोग बनाउनु जरुरी भयो ।’
आज सहमति भए पनि खबरदारी निरन्तर रहने उनले बताए । दाहालले भने, ‘आज सहमति भए आन्दोलनको स्वरुप परिवर्तन हुन्छ । सचेतना र जागरण कार्यक्रम जारी रहन्छ ।’ आज घर फर्कने कि नफर्कने, दिउँसो मात्र थाहा हुने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्