Logo

तनहुँ १ मा कोही ‘हेभिवेट’ उम्मेदवार छैनः गोविन्द भट्टराई



काठमाडौं, १९ चैत । तनहुँ १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले सरकारी पदमा नभए पनि क्षेत्रगत विकासमा आफ्नो योगदान रहेको बताएका छन् ।
‘यो क्षेत्रमा जे जति विकास भएको छ, नेपाली कांग्रेसले तय गरेको खाकाका आधारमा भएको हो । मैले सरकारी पदमा नभए पनि यहाँको खानेपानी, सडक, विद्युतीकरण, पुलपुलेसा, विद्यालय भवन आदिको निर्माणमा योगदान गरेको छु । मेरो मूल एजेन्डा राजनीतिक स्थायित्व, अर्थतन्त्रको सुधार र विकास नै हो । कृषि क्षेत्रका समस्या समाधान गर्दै बन्दीपुर, थानीमाई, मिर्लुङकोट, टुटेपानी, छिम्केश्वरी आदि पर्यटकीय क्षेत्रमा पूर्वाधार बढाउने सोच बनाएको छु,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
नेता भट्टराईले तनहुँ १ मा कोही हेभिवेट उम्मेदवार नभएको दाबी गरे । उनले भने, ‘तनहुँ १ मा केही मान्छे जागिरे जीवन छाडेर राजनीतिमा आउनुभएको छ । यहाँका जनता र माटोसँग उहाँहरुको कतै पनि सम्बन्ध छैन । उहाँहरु हेभिवेट हो भन्ने मलाई लाग्दैन । उहाँहरुलाई नयाँ भन्ने हो भने म पनि नयाँ अनुहार हुँ । संसदीय फाँटमा गोविन्द भट्टराईले पहिलो पटक चुनाव लडेको छु ।’
उनले आफ्नो विजय सुनिश्चित भएको दाबी गरे । भट्टराईले भने, ‘चुनावमा प्रतिस्पर्धा दलहरुबीच नै हुन्छ । चुनावका बेला खहरेजस्ता दल देखिन्छन् । तनहुँ १ मा कांग्रेसले गत निर्वाचन पनि जितेको हो । जनमत हामीसँगै छ । मलाई मतदाताले चिन्नुभएको छ । मसँग जति सामीप्यता र ममता अरुसँग हुन सक्दैन । मलाई पार्टीको मात्र नभएर गठबन्धनको पनि समर्थन छ । अरु पनि दल थपिन सक्छन् । त्यसैले मेरो जित सुनिश्चित भएको छ ।’
कोही व्यक्ति पार्टीमा आउनु र जानु स्वाभाविक भएको पनि उनले बताए । उनले भने, ‘व्यक्तिगत फाइदाका लागि कसैले कांग्रेस छाड्यो होला । पार्टीमा आउनु-जानु स्वाभाविकै हो । मैले यसमा अन्यथा लिएको छैन । राजनीति पदप्राप्ति मात्र होइन, निष्ठाको विषय पनि हो । मैले राजनीतिक जीवनको सुरुवात दमौलीको माटोबाट गरेको हुँ । अहिले पञ्चायती व्यवस्था रहेको भए पनि म लडिरहेकै हुन्थें ।’



प्रतिक्रिया दिनुहोस्