Logo

‘एक वडा, एक खेलमैदान’को योजना अलपत्र



खोटाङ, १९ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजारस्थित माटिकोरेमा निर्माणाधीन ‘दिक्तेल फुटबल स्टेडियम’ (रङ्गशाला)को काम अवरुद्ध हुनुको कारणसहित सम्झौताअनुसार पुनःनिर्माण सुरु गर्न ठेकेदार कम्पनीलाई पत्राचार गरेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटिकोरे खेलमैदानलाई स्तरोन्नति गरेर रङ्गशाला बनाउने गरी आह्वान गरिएको ठेक्का आशीर्वाद–मोहन एन्ड व्यासीगाउँ–इन्द्रलक्ष्मी जेभीले लिएको छ ।

प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा सम्पन्न गर्ने रु दुई करोड ९६ लाख ४१ हजार चार सय ९५ ठेक्का सम्झौता भएको निर्माणाधीन रङ्गशालामा ढेड महिनादेखि ठेकेदार कम्पनीले कुनै पनि काम गरेको छैन । सुरुआती चरणमै काम नभएपछि प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले ठेकेदार कम्पनीलाई पठाएको पत्रमा समयमै निर्माण सुरु नगरी सम्झौतामा उल्लेखित समयभित्र कार्य सम्पन्न नभएमा कार्यालयबाट म्याद थप नहुने उल्लेख गरिएको छ ।

नगरपालिकाले ठेकेदार कम्पनीलाई लेखेको पत्रमा निर्माणसम्बन्धीको मासिक प्रगति विवरण पेस गर्नसमेत भनिएको छ । रङ्गशालाको काम गर्दागर्दै ठेकेदारले बिनाकारण काम रोकेर अलपत्र छाडेको स्थानीय बासिन्दाले बताएका छन् ।

योजनाको सम्झौताबमोजिम पहिलो किस्ता पेश्की भुक्तानी भइसकेको तर निर्माण सुरु नभएको जनाउँदै नगरपालिकाले समयमै योजना सम्पन्न हुनेमा विश्वास गर्न सकिने अवस्था नभएको जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा एकमात्र माटिकोरे खेलमैदानलाई रङ्गशालाको रूप दिने गरी काम सुरु गरिएको थियो ।

विसं २०८१ वैशाख २९ गतेसम्ममा सम्पन्न गर्ने गरी विसं २०७९ असार २९ गते सम्झौता गरिएको रङ्गशाला निर्माणका लागि भन्दै केही दिन स्काभेटर र टिपर निर्माणस्थल लगिएको थियो । अहिले निर्माणस्थलमा कुनै पनि औजार नरहेको जनाइएको छ ।

जिल्लाका दशवटै स्थानीय तहले खेलमैदान निर्माणको काम सुरु गरे पनि अहिलेसम्म कुनै पनि सम्पन्न भएको छैन । जिल्लाका हरेक स्थानीय तहले ‘एक वडा, एक खेलमैदान’को अवधारणसहित खेलमैदान निर्माणको काम सुरु गरेको थियो ।

जिल्लामा व्यवस्थित खेलमैदान नहुँदा करिब छ महिना खेलकुदका गतिविधिसमेत शून्यजस्तै हुने गरेको छ । खेलमैदान अभावमा स्थानीय युवा तथा फुटबल क्लबहरूले हिउँदको समयमा खुला चौरमा खेलकुदका गतिविधि सञ्चालन गर्दै आएका छन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सोल्मा स्पोर्टस् क्लबले मात्र अहिलेसम्म मापदण्डअनुसारको खेलमैदान निर्माण गरेको छ । ठूलो धनराशि खर्च भए पनि बुइपामा निर्माणाधीन खेलमैदान अझै सञ्चालनमा आउन सकेको छैन ।

केपिलासगढी गाउँपालिकामा निर्माणाधीन बाक्सिला खेलमैदानसमेत अलपत्र अवस्थामा छ । वडा नं ४ बाक्सिला बजारका स्थानीय छ जना दाताले निःशुल्क उपलब्ध गराको रु ४६ करोड बढी मूल्यको जग्गामा प्रदेश सरकार तथा गाउँपालिकाको लगानीमा खेलमैदान निर्माण सुरु गरिएको हो ।

पाँच वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण सुरु गरिएको बाक्सिला खेलमैदान अन्तर्राष्ट्रियस्तरको सबै मापदण्ड रहने निर्माण उपभोक्ता समितिले जनाएको थियो । प्रतियोगिता भएको समयमा कम्तीमा पनि ५० हजार बढी दर्शक बस्न सक्ने गरी प्यारापिट बनाउने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ । रासस



प्रतिक्रिया दिनुहोस्