Logo

रवि लामिछानेको संगठन छैन, खालि हल्लाखल्ला होः एमाले उपाध्यक्ष



काठमाडौं, २१ चैत । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सरकारमा गएपछि रवि लामिछानेको आकर्षण घटेको बताएका छन् ।
‘मिसन ग्रासरुट अभियान चलिरहेका बेला हामीले चितवन, बारा र तनहुँमा शानदार रुपमा उम्मेदवारी दर्ता गरेका छौं । हाम्रा हेभिवेट उम्मेदवार छन् । अरु पार्टीको भन्दा हाम्रो संगठन व्यवस्थित, चुस्त र दुरुस्त हुन्छ । जनताको आकर्षण बढ्दो छ । तीनै ठाउँमा एमालेको जित्ने सम्भावना छ । रवि लामिछाने दलको कुनै संगठन छैन, खालि हल्लाखल्ला हो । सरकारमा गएपछि उनको पहिले जस्तो चार्मिङ छैन । यो बर्खाको भेलजस्तै हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै ज्ञवालीले भने ।
आफ्नै पूर्णता दिन नसकेको पुष्पकमल दाहाल प्रचण्ड सरकारबाट केही पनि आशा गर्न नसकिने पनि उनले बताए । ज्ञवालीले भने, ‘यो सरकार आफैं अपूर्ण छ । मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैन । अरु काम छाडिदिनोस् । यो सरकार कति असफल भन्ने कांग्रेसको असन्तुष्टिबाटै थाहा हुन्छ । यो सरकारबाट केही पनि आशा छैन ।’
पूर्व राजाको अभिव्यक्ति घोर आपत्तिजनक भएको पनि उनले बताए । ज्ञवालीले थपे, ‘अब राणा र राजाको शासन आउँदैन । त्यो इतिहास भैसक्यो । अब राणातन्त्र र राजतन्त्र फर्किंदैन । पूर्व राजाको अभिव्यक्ति घोर आपत्तिजनक छ । राजा फेरि आउन खोजेका हुन् भने लोकतन्त्रवादी शक्ति सतर्क हुनुपर्छ । राजतन्त्र असफल भइसकेको व्यवस्था हो । लोकतन्त्र फेल भैसकेको छैन । कमीकमजोरी सच्चाउनुपर्छ ।’
भीम रावललाई कारबाही गर्न लाग्नुभएको हो भन्ने प्रश्नमा एमाले उपाध्यक्ष ज्ञवालीले भने, ‘हरेक पार्टीमा आन्तरिक समस्या हुन्छन् । भीम रावलसँग छलफल गर्नुपर्ने अवस्था छ । उहाँलाई पार्टीबाट बाहिरिनु हुँदैन । तर उहाँ पार्टी पद्धति, अनुशासन र निर्णयमा चल्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्