Logo

‘जनताले अस्वीकार गरेका नेताहरूलाई जिताउने जिम्मा बाराको हो र ?’



काठमाडौं, २२ चैत । बारा २ मा नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले आफूले जित्ने प्रशस्त सम्भावना भएको दाबी गरेका छन् ।
‘नेकपा एमाले अहिले पनि सबभन्दा बढी जनमत भएको पार्टी हो । बारा २ एमालेले पटकपटक जितेको क्षेत्र हो । सोहन चौधरीले दुईचोटि र बलवीर चौधरीले एकचोटि जित्नुभएको हो । एमालेको जनमत कायम भएको प्रमाण यही हो । मंसिर ४ मा गठबन्धन हुँदा पनि बाराका दुई क्षेत्र एमालेले जितेको हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै पौडेलले भने ।
विगतमा दुई पटक जनता समाजवादी पार्टीले जिते पनि जनता बेवारिस बनेको आरोप पनि उनले लगाए । पौडेलले थपे, ‘यो बाराको सबैभन्दा पछाडि परेको क्षेत्र हो । विगतमा जसपाले दुईचोटि जिते पनि जनता बेबारिसे भए । जनताले यसपटक आफ्नो असली साथी खोजेका छन् । संसद्मा त गठबन्धनका नाममा ह्वीप लगाउलान्, आम जनतालाई कसले ह्वीप लगाउने ?’
जनताले पुरुषोत्तम पौडेललाई नै रोज्ने ठोकुवा पनि उनले गरे । पौडेलले भने, ‘उपेन्द्र (यादव)जीले चुनाव हारेको पाँच महिना पनि बितेको छैन । रमेश खरेलजीले काठमाडौं हार्नुभएकै हो । उहाँहरु बडा राम्रा नेता हुनुहुन्छ होला । तर चारैतिर जनताले अस्वीकार गरेका नेतालाई जिताउने जिम्मा बाराको हो र ? बारा २ का जनताले नयाँ प्रतिनिधि खोजिरहेका छन् ।’
तराई मधेसको समस्या समाधानका लागि लाग्ने पार्टी एमालेले नै भएको पनि पौडेलले बताए । उनले भने, ‘मधेसी आयोग बनाउने एमाले नै हो । यहाँका खानेपानी, कृषि, हुलाकी सडक बनाउने काम एमालेले गरेको छ । त्यसैले प्रदेश र संघमा पहिलो पार्टी भयो । एमालेले जनतालाई कहिल्यै धोका दिएको छैन । जनताले यसलाई राम्ररी नियालेर हेरेका छन् ।’ गठबन्धनले चुनावका बेला मधेस प्रदेशमा सरकार बदल्ने धन्दा गरिरहेको आरोप पनि उनले लगाए ।



प्रतिक्रिया दिनुहोस्