काठमाडौं, २५ चैत्र । उपप्रधान एवं रक्षामन्त्री बनेपछि पूर्णबहादुर खड्का आज पहिलोपटक गृहजिल्ला पुगेका छन् । बुद्ध एयरको जहाजमार्फत सुर्खेत पुगेका उपप्रधानमन्त्री खड्काले जहाजबाट ओर्लिनेबित्तिकै माटो ढोगेका छन्। सुर्खेतमा हुन लागेका विभिन्न कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन्। खड्कालाई स्थानीयहरूले स्वागत गरेका थिए।
उनले विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा संक्षिप्त कुराकानीसमेत गरेका थिए । सो क्रममा उनले कर्णाली र सुर्खेती जनताको शीर निहुरिने गरेर कुनै पनि कामहरू आफूबाट नहुने विश्वस दिलाएका थिए ।
उनले भने,”म अहिले जहाँ छु, कर्णालीको जनप्रतिनिधिको रूपमा छु, मैले जिम्मेवारी सम्हाल्दा, सम्पन्न गरेर जिम्मेवारी विसाउने बेलाको भोलिपल्टदेखि कर्णालीका जनताले हाम्रो शीर निहुरिने काम गरेनन्, कर्म गरेनन्, शिर ठाडो गर्ने गरी काम गर्यो भन्ने जस प्राप्त गर्न सकूँ, त्यही तागत, आर्शिवाद र शुभकामना कर्णालीको माटोसँग माग्नका लागि कर्णालीको धर्ती ढोगेको हुँ।”