Logo

‘गगन थापा र विश्वप्रकाश शर्माले प्रदीप पौडेललाई स्वास्थ्य मन्त्री नबनाए सरकारमा जाँदैनौं भन्नुभएको छैन’



काठमाडौं, २६ चैत । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद प्रदीप पौडेलले सरकारलाई पूर्णता ढिलो भयो भने धेरै कुरामा असर गर्ने बताएका छन् ।
‘हामीले अनावश्यक महत्तावाकांक्षा राख्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन ढिलो भएको भन्ने कुरा सही हो । यसमा ढिलाइ हुँदा धेरै कुरामा प्रभाव पर्छ । हामी नभई हुँदैन, हामीबिना सरकाले पूर्णता पाउनु हुँदैन भन्ने भनेका छैनौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै पौडेलले भने ।
पार्टी महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले प्रदीप पौडेललाई स्वास्थ्य मन्त्री नबनाए बाहिरै बस्छौं भनेर चेतावनी दिनुभएको छ नि भन्ने प्रश्नमा उनले भने, ‘हो, मैले इच्छा प्रकट गरेको विषय हो । तर महामन्त्रीद्वयले मात्र मेरो पक्ष लिनुभयो भन्ने होइन । यसमा कित्ताबन्दी भएको पनि छैन । अहिलेको परिस्थिति बुझेर सबै क्षेत्र, वर्ग समेटेर मन्त्रिमण्डलप्रति आशा र विश्वास प्रकट गर्ने अवस्था बनोस् भन्नु स्वाभाविक हो । हामीले पार्टीभित्र त्यस किसिमको सहमति बनोस् भन्ने चाहेका छौं ।’
अहिलेको अवस्थामा एउटा मन्त्रालयको नृेतत्व गरेर जाँदा पनि सुधारका संकेत गर्न सकिने उनले औंल्याए । पौडेलले भने, ‘नयाँले अवसर पाउने, कसले नेतृत्व गर्दा परिणाम आउँछ भनेर नेतृत्व पंक्तिले सोच्नु स्वाभाविक हो । अहिले एउटा मन्त्रालयको नृेतत्व गरेर जाँदा केही उपलब्धि हुन सक्छ । सुधारका संकेत गर्न सकिन्छ । आम असन्तुष्टि प्रकट भएका बेला सरकारमा गएर डेलिभर गर्ने स्थिति बन्छ कि ?’

उनले सरकारलाई पूर्णता दिने सम्बन्धमा चाँडै निर्णय गर्नुपर्ने पनि बताए । उनले थपे, ‘सरकारमा मन्त्री पठाउने कुरा अहिलेसम्म टुंगिएको छैन । यसलाई छिटो समाधान गरेर अघि बढ्नुपर्छ । हामी नमिलीकन हुँदैन । क्षमता अनुसार भूमिका र सम्मानजनक उपस्थिति आवश्यक पनि छ । हाम्रो आन्तरिक छलफल भइरहेको छ । तर त्यो तपाईंको मिडियामा भन्ने कुरा छैन ।’
तनहुँ १ मा नेपाली कांग्रेसको पक्षमा वातावरण बनेको पनि दाबी पनि पौडेलले गरे । उनले भने, ‘त्यो नेपाली कांग्रेसको उभार भएको क्षेत्र हो । अहिले त्यहाँ कुनै उपथलपुथल भएको स्थिति छैन । नेपाली कांंग्रेसको उम्मेदवार गोविन्द भट्टराई लामो समय राजनीति गरेको र अत्यन्त निष्ठा भएको नेता हुनुहुन्छ । उहाँको शालीन व्यवहारका कारण कार्यकर्तामा कुनै किसिमको असन्तुष्टि छैन । ‘



प्रतिक्रिया दिनुहोस्