काठमाडौं, २६ चैत्र । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमाले सचिव लेखराज भट्टसँग भेटवार्ता गरेका छन् । कैलालीको गेटास्थित् भट्टको निवासमा पुगेका दाहालले समसामयिक राजनीतिक विषयमा पनि कुराकानी गरेको बताईएको छ ।
दाहालले भट्टसँग भेटेर निस्किने क्रममा सो घरसँग आफ्नो ४० वर्षदेखिको सम्बन्ध रहेको खुलासा गरे । उनले भट्टको घरको माथिल्लो तलामा आफ्नो कोठासमेत रहेको स्मरण गराए । नेकपा विभाजन भएपछि भट्ट एमालेतिर लागेका छन् । नेकपाको विवादको उत्कर्षको बेलामा पनि उनी अध्यक्ष केपी शर्मा ओलीको कित्तामा खुलेका थिए ।
सो क्रममा एमाले सचिव भट्टले भने आफू र प्रधानमन्त्री दाहालबीच लामो समयदेखिको सुमधुर र पारिवारिक सम्बन्ध रहेको खुलाए । उनले पारिवारिक र सममायिक राजनीतिकबाहेक अन्य विषयमा कुराकानी नभएको जिकिर गरे । उनले आफू फेरि माओवादीमा जाने विषयमा छलफल नभएको र अहिले त्यो सम्भव पनि नभएको स्पष्ट पारे ।