काठमाडौं, २७ चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तनहुँ–१ को निर्वाचन पार्टीको पक्षमा पार्नको लागि विभिन्न कदम चालेका छन् । बैशाख १० गते हुने उपनिर्वाचनको लागि पार्टीबाट गोविन्दराज भट्टराई उम्मेदवार छन् । उनलाई नेकपा (माओवादी केन्द्र) र नेकपा (एस) को पनि साथ छ । भट्टराईले टिकट पाएपछि कांग्रेसमा धेरैले उनले न्याय पाएको बताउन थालेका छन् ।
कांग्रेसकै राजनीतिमा सक्रिय डा. स्वर्णिम वाग्लेले कांग्रेस परित्याग गरी रवि लामिछाने नेतृत्वको रास्वपा रोजेपछि भने तनुँको राजनीतिमा तरंग पैदा भएको छ । वाग्लेले सो क्षेत्रबाट रास्वपाबाट उम्मेदवारी दिएपछि चुनावी माहोल झनै तातिएको छ । तनहुँ कांग्रेसमा गोविन्दराज जोशी असन्तुष्ट बनेको निकै लामो समय भयो । तनहुँ जोशी समूहले यसअघिको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएको थियो ।
अहिले उपनिर्वाचनको मुखमा भने सभापति देउवाले जोशी समूहको कारबाही फुकुवा गरेर फकाउने प्रयास गरेका छन् । त्यतिमात्रै नभएर देउवाले जोशीका छोरा दीपकराज जोशीलाई काठमाडौं बोलाएर छलफलसमेत गरेका छन् । तर, उक्त छलफल सकारात्मक नभएको स्रोतको दाबी छ ।
देउवाले जोशीलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने प्रस्ताव गरेका थिए । दीपकराजले आफ्नो समूहले गत मंसिरको चुनावमा ७ हजार मत ल्याएको भन्दै सो समूहका नेता तथा कार्यकर्ताहरुको पनि व्यवस्थापन हुनुपर्ने अडान राखेका थिए । तनहुँ १ को निर्वाचनमा जोशी समूहले कसलाई सघाउने भनेर अहिले खुलेको छैन् । File Photo/ReportersNepal