काठमाडौं, २८ चैत्र । पत्रकार ईन्जिना कार्कीले गठी मुद्दामा आफूले सफाई पाएको स्पष्ट पारेकी छिन् । अभियोग पुष्टि हुन नसकेपछि जिल्ला अदालत काठमाडौंले आफूलाई गत चैत्र ६ गते सफाई दिएको उनको भनाई छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूमाथि लगाइएको मुद्दा गलत सावित भएको बताएकी हुन् । शिवशिखर सहकारी र प्रहरीको मिलेमतोमा आफूलाई नियोजित रुपमा फसाइएको भएपनि अदालतबाट न्याय पाएको उनले बताईन् । आफूलाई अनुसन्धानका क्रममा प्रहरीले मानसिक र शारीरीक रूपमा यातना दिएको उनको आरोप छ ।
अपराध महाशाखका डिएसपी दिलबहादुर मल्लले आफूलाई अहिलेपनि निरन्तर रुपमा हैरानी दिएको उनले बताईन् । ‘दुई वर्ष अगाडि मलाई एउटा मुद्दामा फसाइएको थियो । प्रहरीले सुनियोजित तरिकाले एउटा सहकारीसँग मिलेर सेटिङमा फसाएको थियो । जुन आधार पुष्टि हुन नसकेपछि मैले जिल्ला अदालत काठमाडौंबाट सफाई पाएकी छु,’–उनले भनिन् ।
आफूलाई प्रहरीले महिला प्रहरी पनि नराखी बयान लिएर मानसिक र शारीरिक रूपमा यातना दिएको उनले बताईन् । मानवअधिकार आयोग विभिन्न निकायमा आफू प्रहरीको ज्यादतीविरुद्ध जाने तयारीमा रहेको पनि उनले जानकारी दिईन् । डिएसपी मल्लका विरुद्ध आफू न्यायिक उपचार खोज्ने तयारीमा रहेको उनको भनाई छ । प्रहरीले आफूलाई २९ दिनसम्म प्रहरी हिरासतमा राखेको उनको आरोप छ ।
‘डिएसपी दिलबहादुर मल्लविरुद्ध बाध्य भएर मैले मुद्दा दर्ता गर्दैछु । मैले सफाई पाइसकेपछि दुई/चार वटा मिडियाहरुले न्युज हालेपछि मलाई डिएसपीले त्यो न्युज हटाइदिनुस् भनेर पटक–पटक फोन गर्नुभयो । पटक–पटक मलाई भेट्न खोज्नुभयो,’– उनले भनिन् ।