Logo

तरकारी सस्तियो, उपभोक्ताले पाएनन् राहत



काठमाडौं, चैत ३०। पछिल्लो साता देशकै ठूलो तरकारी बजार कालीमाटीमा तरकारीको थोक मूल्य ५० प्रतिशतसम्म सस्तो भएको छ । गोलभेँडा, बन्दा, हरियो र पाकेको फर्सी, घिउसिमी, तुनेबोडी, भान्टा, भिन्डीलगायतका मौसमी तरकारीको भाउ सस्तिएको हो तर खुद्रामा किन्ने उपभोक्ताले थोकमा सस्तिएको तरकारीको महसुस गर्न पाएका छैन । अरू त के कुरा गर्नु कालीमाटी बजारभित्र रहेको खुुद्रा बजारमा समेत तरकारीको भाउ सस्तिएको छैन ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार स्थानीय काउली, मूला, साग, गाजरलगायतका तरकारीको मूल्य भने क्रमशः बढ्दै गएको छ । ती तरकारीको मौसम करिब सकिएकाले पनि क्रमशः मूल्य बढ्न थालेको समितिले जनाएको छ ।

समितिले सार्वजानिक गरेको तथ्याङ्कअनुसार चैतको तेस्रो सातासम्म थोकमै प्रतिकेजी ८५र९० रुपैयाँमा कारोबार भएको गोलभेँडा अहिले घटेर थोकमा प्रतिकेजी ५५ रुपैयाँमा झरेको छ । यस्तै घिउसिमी, तनेबोडी, हरियो फर्सी, बन्दालगायतका तरकारी पनि सस्तिएका छन् ।

कालीमाटी तरकारी बजारमा तरकारी किन्दै गरेका सानेपा घर बताउने बिनु अमात्यले थोकमा तरकारीको भाउ यति धेरै घट्दा पनि खुद्रामा आफूले महसुस गर्न नपाएको गुनासो गरे । “गोलभेँडा प्रतिकेजी १०० रुपैयाँमा किन्नुपर्छ तर कालीमाटीमा त ११० रुपैयाँमा एक धार्नी आयो । बन्दा, फर्सी, घिउसिमी, तनेबोडी, भिन्डी, भान्टा पनि आधा सस्तो रहेछ,” उनले आफ्नो अनुभव सुनाए ।

कालीमाटी बजारभित्रै रहेको खुद्रा बजार र थोक बजारको तरकारी मूल्य अन्तर हेर्दा पनि आधाभन्दा बढी भएको पाएको अनुभव तरकारी किन्दै गरेकी गङ्गामाया अधिकारीले सुनाईन् । कालीमाटी बजारमा पनि धेरै किन्नेलाई सस्तो हो तर थोरै किन्नेलाई कालीमाटीमै पनि महँगो छ । सरकारका अनुगमन गर्ने निकायले के गरेर बसेका छन् कुन्नि ? एउटै बजारभित्र मूल्यमा यति धेरै अन्तर हुँदा भनेर उनले प्रश्न गरिन ।

बजारको मूल्य नियमन गर्ने जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने सीमित स्रोतसाधन भएको विभागले मात्रै सबै क्षेत्रको अनुगमन गर्न नसक्ने बताउँदै आएको छ । विभागका निर्देशक होमप्रसाद भट्टराईले आमउपभोक्ताले गरेको अपेक्षाअनुसार विभागको सीमित स्रोत र जनशक्तिले सेवा दिन नसकेको स्वीकार गरे ।

उनले भने, “विभागले अनुगमन नै गर्दैन भन्ने होइन, हामीले सेवा र वस्तुको नियमित अनुगमन गर्दै आएका छौँ । त्यो पर्याप्त भने छैन, हरेक पालिकालाई अनुगमन गर्ने अधिकार छ, उहाँहरूको यसमा ध्यान किन नगएको हो ?”

“हरेक पालिकाले आआफ्नो पालिकाभित्र पर्ने बजारलाई चुस्तदुरुस्त पार्नका लागि उपप्रमुखको संयोजकत्वमा अनुगमन समिति हुने व्यवस्था छ तर उहाँहरू किन अलमल्लमा पर्नुुभयो ?” निर्देशक भट्टराईले थपे ।

कालीमाटीका थोक व्यापारी गीताप्रसाद आचार्यले पछिल्लो एकरडेढ सातायता मौसमी तरकारीको भाउ आधा घटेको बताए । अहिले बजारमा तरकारीको आयात पर्याप्त नभए पनि थोक बजारमा मौसमी मात्रै होइन, बेमौसमी तरकारी पनि सस्तिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्