काठमाडौं, ३० चैत । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले मन्त्रिपरिषद्को पूर्णता वैशाख १० को उपनिर्वाचनपछि मात्र हुने बताएका छन् ।
‘निर्वाचन आयोगको आचारसंहिताका कारण मन्त्री पठाउने कुरामा अलमल भएको साँचो हो । स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय खाली राख्नु राम्रो कुरा होइन । पहिले नैतिक प्रश्न थियो, अब कानुनी प्रश्न भयो । मन्त्री पठाउने कुरा किन भएन भन्दा पनि चाँडोभन्दा चाँडो पठाउने कुरा छ । अब उपनिर्वाचनपछि नै मन्त्रिपरिषद् विस्तार हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
विश्वकर्माले उपनिर्वाचनमा नेपाली कांग्रेस एकढिक्का रहेको दाबी पनि गरे । उनले भने, ‘नेपाली कांग्रेस विभाजित छैन, एकढिक्का छ । म हिजो तीनवटा कार्यक्रममा सहभागी भएँ । अहिले पनि तनहुँमै छु । धेरै नेता कार्यकर्ता चितवन, तनहुँ र बारामा खटिनुभएको छ ।’
तनहुँ १ मा गोविन्द भट्टराई सबभन्दा अब्बल, सक्षम, असल र बौद्धिक नेता भएको पनि उनले बताए । उनले भने, ‘गोविन्द भट्टराईलाई कसरी कमजोर भन्न मिल्छ ? उहाँबाहेकका कोही रिसले र कोही आशले उम्मेदवार बनेका हुन् । तिनीहरु नयाँ जोगी हुन्, धेरै खरानी घसेका छन्, जथाभावी बोलेका छन् । जिन्दगीभरि जागिर खाएर जनतालाई दमन गर्ने मान्छे अनि राज्यमन्त्री र मन्त्रीस्तरमा चित्त नबुझ्दा पार्टी छाड्नेहरुका कुरा नगरौं ।’ जनताले जादुगर, चाटुकारहरुको सक्कली रुप थाहा पाइसकेकाले चितवन २ मा पनि कांग्रेसकै उम्मेदवारले जित्ने विश्वकर्माको जिकिर छ । साथै उनले प्रधानन्यायाधीशको नियुक्ति चाँडोभन्दा चाँडो गर्नुपर्ने पनि बताए ।