काठमाडौं, १ बैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले बुद्धि नपुर्याउने, संघर्ष नगर्ने हो भने धेरै अप्ठ्यारो स्थिति आउन सक्ने खुलासा गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले हामीले बुद्धि नपुर्याउने, संघर्ष नगर्ने हो भने धेरै अप्ठ्यारो स्थिति आउन सक्ने खुलासा गरेका हुन्।
उनले संविधानसभाबाट भएको घोषणालाई आत्मसाथ गरिएको तर अहिले त्यसलाई विभिन्न तर्क, विर्तक गरेर कसरी असफल र उल्ट्याउन सकिन्छ भन्ने कसरत ठूलै चलिरहेको दाबी गरेका छन्।
उनले भने, ‘अहिले हामी सरकारको नेतृत्वमा छौं, मन्त्री छौं, प्रधानमन्त्री छौं, त्यसकारण उल्टिँदैन होला जस्तो लाग्न पनि सक्छ, मैले सबै कमरेडहरुलाई बुझिनेगरी भन्न चाहन्छु, यो स्थिति सहज छैन। हामीले बुद्धि नपुर्याउने, जिम्मेवारी बोध नगर्ने हो, संघर्ष नगर्ने हो भने धेरै अफ्ठ्यारो स्थिति आउन सक्छ।’