Logo

कोरियन पूर्वमन्त्री ली र कृषि विकास बैंकबीच छलफल, वैदेशिक लगानी बैंकमार्फत ल्याउने



काठमाडौं, १ बैशाख । दक्षिण कोरियन पूर्वमन्त्री डा. ली नाम की र एनआरएनएका अध्यक्ष विनोद कुँवरले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइयो) गोबिन्द गुरुङसँग विदेशी लगानी भित्राएर नेपालका विभिन्न क्षेत्रको विकास गर्ने बारे छलफल गरेका छन् ।

बिहिबार रामशाहपथस्थित बैंकको केन्द्रीय कार्यालयमा भएको छलफलमा सहकार्य गर्न सकिने आधार रहेको निष्कर्ष निकालेका छन् । गैरआवसीय नेपाली संघ (एनआरएनए) को पहलमा कोरियाका पूर्वमन्त्री डा. ली नेपालका सरकारी तथा नीजि आर्थिक क्षेत्रका निकायहरुसँग एक सातादेखि भेटघाट र छलफलमा रहेका छन् ।

कोरिया–एसिया इकोनमिक कोअपरेसन एसोसियसनका अध्यक्ष समेत रहेका डा. लीले बिहिबार सिईयो गुरुङसँग वैदेशीक लगानी कृषि विकास बैंकमार्फत परिचालन गर्नेबारे विशेष छलफल गरेका थिए ।

डा. लीले विशेष गरेर सर्वसाधारण आम नागरिकले सेवा र सुविधा प्राप्त गर्ने र सरकारी नियन्त्रण भएका परियोजनामा आफूहरुको लगानी गर्ने बताए । आफूहरुले हाइड्रो तथा सोलार पावर प्लान्ट, एयरपोर्ट, पब्लिक पोर्ट, अस्पताल तथा रिसर्च सेन्टर, विश्वविद्यालय, लजिस्टिक, मोनो रेल, राजमार्ग निर्माणका साथै आम जनताले प्रतयक्ष लाभ पाउने ठूला परियोजनामा लगानी गर्न इच्छुक रहेको बताए । जसमा न्यूनतम २० अर्बदेखि माथिको लगानी ल्याउन सक्ने तर लगानी पूर्ण सुरक्षाको सुनिश्चिता हुनुपर्ने आफ्नो मुख्य सर्त रहेको बताए ।

सिईयो गुरुङले आफू नेतृत्वको बैंकलाई लीले प्रस्ताव राखेजस्तै ठूलो रकमको आवश्यकता भएको तर कतिपय कानुनी तथा अन्तर्राष्ट्रि मौद्रीक नीतिका कारण केही जटिलता रहेको बताए । आफूहरुसँग ठूलाठूला आयोजनाहरु पाइपलाईनमा बसेको र लगानीको खोजिमा रहेको बताउँदै निकट भविष्यमा लगानी सुनिश्चिततासहित सहकार्य गर्नसकिने धारणा राखे ।

छलफलका क्रममा एनआरएनएका अध्यक्ष कुँवरले दक्षिण कोरियालगायताका विश्वका विकसित देशहरुले सुरुमा विदेशी लगानीको भरभूर सदुपयोग गरेको बताउँदै, नेपालले पनि त्यही गर्नसक्ने धारणा राखे ।

सो भेटघाटमा रोपवे नेपालका अध्यक्ष गुणराज ढकाल, संघकी महासचिव जानकी गुरुङ, कार्यकारी निर्देशक राजेश राणा, बैंकका उपमहाप्रबन्धक बाबुकाजी थापा, चीफ फाइनान्स अफिसर प्रेमकुमार श्रेष्ठ, विजनेस क्रेडिट डिपार्टमेन्ट हेड सुदिपकुमार दाहाल र पीडी इन्जीनियरिङ प्रा.लि.का डाइरेक्टर देब गुरुङले विदेशी लगानी ल्याएर नेपाली जनजीवन उकास्न सबैले कोशिष गर्नु पर्ने धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्