Logo

तीनवटै निर्वाचन क्षेत्र जितेर गठबन्धनको निरर्थकता साबित गर्छौंः सूर्य थापा



काठमाडौं, २ वैशाख । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा आफ्नो पार्टीलाई मुछ्न नमिल्ने बताएका छन् ।
‘टोपबहादुर रायमाझी लगायतका नेताहरुमाथि नियोजित रुपमा सत्तासंरक्षित आक्रमण भएको छ । पार्टीले जवाफ दिने कुरा पार्टीले दिन्छ । टोपबहादुर र उहाँका छोराका बारेमा उठेका प्रश्नबारे पार्टीले भन्दा पनि उहाँ स्वयंले जवाफ दिनुहुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै थापाले भने । कसैले एक जनालाई पनि नक्कली भुटानी शरणार्थी बनाएको तथ्य प्रमाण दिन्छ भने त्यसलाई आफूले स्वीकार्ने पनि उनले बताए ।
नेता थापाले चितवन २ मा रवि लामिछानेभन्दा स्थानीय उम्मेदवारहरु नै अगाडि रहेको दाबी गरे । उनले भने, ‘चितवनमा पहिले जस्तै घन्टी बजिरहेको छैन । रवि लामिछाने स्वयं मतदातासँग झनक्क रिसाउँदै फन्किँदै गरेको देखिएको छ । एमालेका राम न्यौपाने मतदाताबीचमा नयाँ माहोल सिर्जना गर्दै अघि बढिरहनुभएको छ । उहाँ युवाहरुमध्ये पनि युवा उम्मेदवार हुनुहुन्छ । त्यसकारण आश्चर्यजनक परिणाम आउन सक्छ ।’
तनहुँ १ मा स्वर्णिम वाग्लेको आकांक्षा र मतदाताको भावनाबीच कुनै तालमेल नभएको उनको जिकिर छ । थापाले भने, ‘त्यहाँको मत परिणाम रामचन्द्र पौडेलले हातमा कुश लिएर गोविन्द भट्टराईलाई अंश वा बकस दिने कुरा होइन । स्वर्णिम वाग्लेको आकांक्षा र मतदाताको भावनाबीच कुनै तालमेल छैन । सर्वेन्द्र खनालले राम्रो गरिरहनुभएको छ ।’
बारा २ मा उपेन्द्र यादव संकटमा रहेको उनले बताए । थापाले थपे, ‘उपेन्द्र यादव मधेस प्रदेशको हेभिवेट नेता हो । तर बाराका हिसाबले ननवेट र जनताले नचिन्ने उम्मेदवार हो । बारासँग उहाँको गोरु बेचेको सम्बन्ध छैन । सप्तरीबाट बारामा चुनाव लड्न आउनुभएको छ । नाममा गठबन्धनको साथ त छ । तर नजितिदिए हुन्थ्यो भन्ने गठबन्धन दलहरुकै नेताले सोचेका छन् । रमेश खरेल आफ्नो पार्टी कायमै राखेर सापटीको उम्मेदवार बनेर जानुभएको छ ।’
त्रिपक्षीय प्रतिस्पर्धामा एमालेको पोल्टोमा धेरै सजिलो परिणाम आउने दाबी पनि उनले गरे । थापाले भने, ‘तीनवटै निर्वाचन क्षेत्र एमालेले हारेका ठाउँ हुन् । यसपटक तीनै ठाउँमा जितेर गठबन्धनको निरर्थकता साबित गर्छौं ।’
कोसी, गण्डकी र लुम्बिनीमा एमालेले राजीनामा दिने पक्षमा नरहेको पनि थापाले बताए । उनले भने, ‘माओवादीले कोसी र लुम्बिनीमा विश्वासको मत फिर्ता लिएको छ । तर सिंगल लार्जेस्ट पार्टी एमालेले बाटोघाटोमै छाडिदिनुपर्छ सजिलो पारिदिनुपर्छ भन्ने होइन । संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिने प्रक्रिया हुन्छ नि । विश्वासको मत फिर्ता लिने बित्तिकै प्रचण्डले छाडेर हिँड्नुभएको थियो र ?’



प्रतिक्रिया दिनुहोस्