Logo

गठबन्धन सरकारले अझै एक वर्ष संवैधानिक परिषद्को बैठक राख्दैनः एमाले नेता



काठमाडौं, ३ वैशाख । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले १४ महिनासम्म न्यायपालिकालाई नेतृत्वविहीन राख्नु विडम्बना भएको बताएका छन् ।
‘हो, सर्वोच्च अदालतले प्रधानन्यायाधीश पाएको छैन । प्रधानमन्त्री र सत्ताधारी गठबन्धनको दिमागमा कुरा हो । आफूले भन्याजस्तो निर्णय हुन्न भन्ने डर छ । परिषद्का तीन जना पदेन सदस्य नेकपा एमालेका पक्षमा रहेकाले अर्को एक वर्षसम्म उसले बैठक राख्दैन । उहाँहरुले केही पनि गर्नुहुन्न । यसरी नै चलाउनुहुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
एमाले नेता तामाङले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गर्न कुनै कानुनी अड्चन नरहेको पनि औंल्याए । उनले भने, ‘यो गठबन्धन न्यायालयलाई यस्तै अकर्मण्यता र नेतृत्वविहीनतामा राख्न चाहन्छ । त्यसैले अन्य संवैधानिक सिफारिस पनि गर्ने पक्षमा छैन ।’
साथै उनले ससदीय सुनुवाइ समिति गठन नभएकाले सिफारिस नगरेको भन्ने नियुक्ति टार्ने मेलो मात्र भएको टिप्पणी गरे । उनले भने, ‘संवैधानिक अंगका नियुक्ति सिफारिस गरेपछि सुनुवाइ समिति त तत्कालै बनिहाल्छ नि ।’
१० वर्षे द्वन्द्वका घटक र त्यसका नेतृत्वकर्ताका कारण पीडकले उन्मुक्ति दिने उद्देश्यसहित आएको आरोप पनि उनले लगाए । नेता तामाङले तीनवटै निर्वाचन क्षेत्रमा एमालेको शानदार ‘कमब्याक’ हुने दाबी पनि गरे । उनले थपे, ‘जनताले यो गठबन्धनलाई जिताउनुपर्ने कुनै कारण छैन । रास्वपाको पछिल्ला गतिविधि पनि निराशाजनक छन् । त्यसैले जनताले एमालेलाई नै जिताउँछन् ।’



प्रतिक्रिया दिनुहोस्