काठमाडौं, ३ बैशाख । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् नेपाली कांग्रेसका नेता डा. विश्व पौडेलले रास्वपाका सभापति रवि लामिछानेको कडा आलोचना गरेका छन् । उनले गोजीमा नागरिकता नभएका रविले नै देश बनाउने गफ गरेको र त्यसमा जनता भुलेको आरोप लगाएका हुन् ।
सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो बताएका हुन् । पौडेलले चितवन–२ मा हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठको भने प्रशंसा गरेका छन् । पौडेलले रवि लामिछानेलाई स्टन्टवालाको संज्ञासमेत दिएका छन् ।
जनमतको कदर गर्नुपर्छ तर गएको निर्वाचनमा चितवनमा गठबन्धनले उठाएका उम्मेदवारहरु डा. सुर्यकान्त घिमिरे, डा. भोजराज अधिकारी, डा. विश्व पौडेल (म आँफै)ले हा-र्यौं। उमेश श्रेष्ठ, जसले धेरैलाई रोजगारी दिनुभएको छ, ले हार्नुभयो। हामीले हार्दा कस्ता “क्षमतावान” ले जिते, जगजाहेर छ। जसको गोजिमा नागरिकता छैन, उनैको देश बनाउने गफमा हाम्रा जनता भुले।
सम्झनु हुन्छ, आफ्नो जनसंपर्क अफिसमा सिइओ राख्ने नौटंकी? पानी ओसार्ने नौटंकी? कोही स्थानियले सिइओको जागिर पाए? एयरपोर्ट गएर कसैलाई ल्याइयो?
मेरा मित्र जितनारायण श्रेष्ठजी सानै देखी चितवनमा बस्नुभयो, मर्दापर्दा सबैको साथी बन्नु भयो, स्थानियको सुख दु:खमा साथ दिनुभयो। सबैलाई खुशी बनाउन खोज्नुभयो। गाउँमा हुर्केको साधारण मान्छेको छोरो सानैमा कांग्रेस जस्तो पार्टीको जिल्ला सभापति बन्नुभयो। भोलि चाहिदा वहाँँ सजिलै उपलब्ध हुनुहुन्छ, गाली खान ताली खान सबैको लागि वहाँँ सजिलै उपलब्ध हुनुहुन्छ।
जित नारायण स्टन्टवाज हैनन, यि अगाडि पछाडि क्यामेरा लगाएर स्टन्ट गर्दैनन, अध्यारो कुनामा साइबर सेना राखेर आक्रमण गर्दैनन। चितवनमा यसपाली जनताको समस्यालाई “स्टन्ट” को बिषय बनाउनेहरुलाई हराऔं र सबक सिकाऔं।रंगमा पोतिएका नीला स्याललाई बाघ मान्ने गल्ती अब नगरौं।