Logo

चितवनका जनता मयूर र सुँगुरबीचको फरक छुट्टाउन सक्षम छन्ः महेश बस्नेत



काठमाडौं, ४ वैशाख । नेकपा एमालेका नेता महेश बस्नेतले मुलुकका गम्भीर समस्या समाधानका लागि नेपाली कांग्रेससँग सहकार्यका निम्ति तयार रहेको बताएका छन् ।
‘ओरालोमा लागेको अर्थतन्त्रको समाधान र शान्तिप्रक्रिया टुंग्याउने टीआरसी विधेयकमा सहमति खोज्ने विषयमा एमाले बाधक हुँदैन । ३२ सिटको पार्टी प्रधानमन्त्री बन्ने, ८०-९० सिटको पार्टीले मन्त्रीमा चित्त बुझाउनुपर्ने, २० सिटेले धम्काउने अवस्थामा शेरबहादुर देउवा आफैं बालकोट आएर केपी ओलीको सहयोग चाहियो भनेको अवस्थामा हामी तयार नहुने कुरै भएन । सरकारले बजेट ल्याउन नसक्ने र कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा कांग्रेसको चेत पलायो भने एमालेले सोच्न सक्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै बस्नेतले भने ।
एमाले सत्ता समीकरण भत्काउने र दुईचार थान मन्त्री बनाउने कुरामा दाम्लो चुँडालेर नलाग्ने पनि उनले बताए । बस्नेतले भने, ‘सत्ताधारी दलहरु अन्तर्राष्ट्रिय मिसनको खेतालाको रुपमा काम गरेको देखिन्छ । त्यसैले तत्काल राष्ट्रिय सहमति बन्ने देखिँदैन । एमाले अहिले मिसन ग्रासरुटमार्फत आगामी चुनावमा बहुमतप्राप्त दल बन्नेतर्फ लाग्छ । एमाले सत्ता समीकरण भत्काउने र दुईचार थान मन्त्री बनाउने कुरामा दाम्लो चुँडालेर लाग्दैन ।’
तीन क्षेत्रमा हुन लागेको उपनिर्वाचन एमालेका निम्ति चुनौती नभएको पनि बस्नेतले औंल्याए । उनले भने, ‘तीनवटै क्षेत्र मंसिर ४ मा हामीले जितेको होइन । उपनिर्वाचन हामीले चाहेर भएको पनि होइन । रामचन्द्र पौडेलको आकांक्षा, उपेन्द्र यादवको स्वार्थ र रवि लामिछानेजस्तो नागरिकता र राहदानीसमेत बनाउन नजान्नेका कारण भएको हो ।’
उनले रवि लामिछाने नक्कली खोल ओढेको व्यक्ति भएको आरोप पनि लगाए । बस्नेतले भने, ‘प्रचण्ड कमरेडका दोस्रो अवतार हो, रवि । युवराज सफल भन्ने निरीह व्यक्तिलाई भौतिक आक्रमण गर्ने, वार रुम राखेर दुर्गा प्रसाईंलाई लखेट्ने गरेर उनले अधिनायकवादी चरित्र देखाएका छन् । नौटंकी र चटके शैलीबाट रविले जित्छन् भन्ने लाग्दैन । रविलाई फेरि जिताएर किन प्रचण्डको पुच्छर बनाउने ? रवि भनेको मयूरको प्वाँख टाँसेको कालो कौवा हो । चितवनका जनताले मयूर र सुँगुरबीचको फरक छुट्टाउँछन् ।’
रवि लामिछानेका सांसदहरु पहिलेको गठबन्धन छँदा आफ्नो घरमा आएर अनेक लाभका कुरा गरेको पनि बस्नेतले दाबी गरे । उनले भने, ‘उनीहरु मेरो घरमा आएर केपी बा र प्रचण्डकहाा लगिदिनुपर्यो भन्दै घुमाइफिराइ लाभका कुरा गर्थे । दुर्गा प्रसाईजस्तो म व्यक्तिगत कुराको फोन टेप राख्दिनँ । राखेको भए यस्ता फोन टेप कति हुन्थे हुन्थे !’



प्रतिक्रिया दिनुहोस्