काठमाडौं, ४ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चितवन–२ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार जितनारायण श्रेष्ठलाई जिताउन आग्रह गरेका छन् । उनले यो निर्वाचनमा लोकरिझ्याइँको राजनीति गर्नेलाई नभई अहिलेको प्रणालीमार्फत् देशका समस्याको समाधान गर्ने व्यक्तिलाई जिताउनुपर्ने बताएका हुन् ।
आज चितवनको कालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास हेर्दा चितवनको आफ्नै विरासत भएको स्मरण गराउँदै उनले कुनै व्यक्ति वा प्रवृत्तिको परीक्षण गर्ने ठाउँ चितवनलाई बनाउन नहुने पनि टिप्पणी गरे । चितवन–२ मा रास्वपाबाट सभापति रवि लामिछाने चुनाव उठेका छन् । थापाको यो अभिव्यक्ति लामिछानेप्रति लक्षित रहेको थियो ।
थापाले श्रेष्ठलाई संसदमा पठाउँदा चितवनका जनताले केही पनि नगुमाउने बताए । उनले भने–‘लोकरिझ्याइँको राजनीतिबाट प्रभावित भएर सिंगो प्रणालीमाथि र हामीले गरेको परिवर्तनमाथि प्रश्न उठ्ने अवस्था आउन दिनुभयो भने त्यसको मूल्य हामी सबैले चुकाउनु पर्छ।’