काठमाडौं, ६ बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता उमेश श्रेष्ठ चितवन–२ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार जितनारायण श्रेष्ठलाई जिताउन चितवन झरेका छन् । भर्खरै पिसाब थैलीको सर्जरी गरेका श्रेष्ठ आज (बुधबार) चुनावी अभियानमा सामेल हुन चितवन झरेका हुन् । गत मंसिरमा भएको निर्वाचनमा सो क्षेत्रबाट उनी उम्मेदवार थिए । उनले रास्वपाका सभापति रवि लामिछानेसँग पराजय व्यहोरेका थिए ।
बैशाख १० गते हुने उपनिर्वाचनमा भने चितवन–२ मा कांग्रेसका जितनारायणले जित्ने श्रेष्ठको दाबी छ । उनले जितनारायणले ठूलो मतान्तरले चुनाव जित्ने दाबीमात्रै गरेनन्, यसअघि चुनाव जितेका रवि लामिछाने तेस्रो हुने पनि सनसनीपूर्ण खुलासा गरेका छन् । यसपटकको निर्वाचनमा आफ्नो पार्टीको पक्षमा व्यापक जनलहर रहेको उनको दाबी छ ।
श्रेष्ठले रवि लामिछानेको ह्विम छोटो समयमा नै सकिएको टिप्पणी गरे । अहिले मंसिरमाजस्तो हावाहुरी नचल्ने उनको दाबी छ । चितवन–२ को उपनिर्वाचनमा कांग्रेसका जितनारायणलाई माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले पनि साथ दिएका छन् ।
श्रेष्ठलाई जिताउनको लागि पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई पनि फिल्डमा उतारेका छन् । सभापति देउवा आज तनहुँ–१ को लागि चुनावी सभामा भाग लिन जाँदैछन् । सो क्षेत्रमा भने गोविन्दराज भट्टराई उम्मेदवार छन् । file photo/RN