Logo

३५ हजार मत ल्याएर जित्छु, सेकेण्ड र थर्ड को हुन्छ भन्ने कुरा केही समयपछि थाहा हुन्छ (भिडिओसहित)



काठमाडौं, ६ बैशाख । बैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले आफूले ३५ हजार मत ल्याएर चुनाव जित्ने दाबी गरे । उनले आफ्नो निकटतम प्रतिष्पर्धी को हुन्छ ? भन्ने केही दिनमा मात्रै थाहा हुने पनि स्पष्ट पारे । उनले आफूलाई पार्टीको पूर्ण साथ रहेको दाबी गरेका छन् । उनले अहिले चितवन कांग्रेसमात्रै नभएर देशभरिको कांग्रेसजनले एकमनले आफूलाई सहयोग गरेको सुनाए । प्राइम टिभीको उपनिर्वाचन बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले आफूलाई जिताउनको लागि पार्टीका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा पनि चुनावी मैदानमा उत्रिएको सुनाए । उनले चितवनमा पार्टीभित्र कुनै समस्या नरहेको जिकिर गरे । उनले भने,‘यसपटक चितवनमा अन्तरघात छैन् । घात छैन् । पास्ट ईज पास्ट । विगतको कमजोरीबाट पाठ सिकेर हामी अघि बढेका छौं ।’ उनले आम जनतामा अहिले जितनारायणलाई जिताउने उत्साह पलाएको आफूले पाएको पनि दाबी गरे । उनले गत वर्षको मंसिरको निर्वाचन र अहिलेको निर्वाचनमा धेरै फरक रहेको सुनाए ।

उनले आफूलाई चितवनका जनतामात्रै नभएर धुलो, माटो र ढुंगाले पनि चिनेको दाबी गरे । उनले आफू लोकतान्त्रिक आन्दोलनमा पटक पटक जेलनेल भोगेको र सामाजिक आन्दोलनलाई पनि उचाईंमा पुर्याएको सुनाए । उनले आफूलाई जिताउन प्रधानमन्त्री पुष्पकमल दाहालपनि चितवन आउने दाबी गरे । उनले भने,‘मलाई जिताउन उहाँपनि भोलि चितवन आउँदै हुनुहुन्छ । हाम्रो अन्तिम सभा छ, उहाँले मलाई मत माग्नुहुन्छ ।’ उनले आफूले भरतपुर महानगरको निर्वाचनमा मेयरमा रेनु दाहाललाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेको सुनाए ।

उनले आफूलाई जिताउनको लागि भरतपुर महानगरकी मेयर रेनुपनि लागिपरेको विश्वास दिलाए । उनले आफूलाई एमालेले पनि मत हाल्दा केही नबग्रिने जिकिर गरे । श्रेष्ठले पछिल्लो समय रवि लामिछानेका कुराहरु एकपछि अर्को गरेर बाहिरिएको सुनाए । गृहमन्त्री हुँदा लामिछानेले गरेको निर्णयपनि विवादास्पद भएको र अहिले उक्त निर्णय खारेजीसँगै छानबिन समिति बनाईएको विष्या पनि उनले सुनाए ।

उनले रवि लामिछानेको घरको छतबाट चालक खसेको घट्ना निकाल्दै उक्त घट्ना आफ्नो घरको छतबाट खसेर भएको भए के हुन्थ्यो भन्दै प्रश्न गरे । उनले भने,‘हामी कसैलाई गलत कुरा बोल्दैनौं । यदि रवि लामिछानेजीको छतको ठाउँमा जितनारायण श्रेष्ठको छतबाट खसेको भए के हुन्थ्यो ? के बोल्नुहुन्थ्यो रविजीले ? के भन्नुहुन्थ्यो उहाँले ? जुलुश लाउनुहुन्थ्यो उहाँले ।’

उनले रवि लामिछानेका चालक शम्भु थापा के भएर लडे ? भन्ने कुराको बास्तविकता बाहिर आउनुपर्ने माग गरे । उनले चालक थापाको उक्त घट्नाको बारेमा जनताले सत्य तथा तथ्य थाहा पाउनुपर्नेमा जोड दिए । उनले चालक थापाको स्वास्थ्यलाभको कामनासमेत गरे ।



प्रतिक्रिया दिनुहोस्