Logo

कांग्रेसले दुई पटक लगाएको गुन तिर्छुः मेयर रेणु दाहाल



काठमाडौं, ७ वैशाख । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले चितवन २ मा गठबन्धन दलहरुबीच  कुनै दरार नभएको बताएकी छन् ।
‘विगतका निर्वाचनमा कांग्रेसभित्र अन्तरविरोध हुन्थ्यो । तर अहिले त्यस्तो देखिएको छैन । जितनारायण श्रेष्ठको उम्मेदवारीलाई लिएर कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीभित्र कुनै मतान्तर छैन । गठबन्धनमा धोका र अन्तर्घात हुँदैन । यसपटक उहाँले भारी मतान्तरसहित जित्नुहुन्छ,’ पत्रकार ऋषि धमलासँग संवाद गर्दै ‘उपनिर्वाचन बहस’ गर्दै उनले भनिन् ।
माओवादी पार्टीले विगतको तुष बोकेर घात नगर्ने पनि उनले बताइन् । मेयर दाहालले भनिन्, ‘माओवादीमा त्यस्तो संस्कार छैन । कार्यकर्ता पंक्तिले पार्टी निर्णय शतप्रतिशत शिरोधार्य गर्छ । हामी गठबन्धन बाहेक अरुलाई मतदान गर्ने सोच्नै सक्दैनौं । जितनारायणजीले पहिले पार्टीको आन्तरिक बैठकमा बोलेका कुरालाई हामीले अन्यथा लिएको छैन । माओवादी तुष बोकेर हिँड्ने पार्टी होइन ।’
आफू जितनारायणको पक्षमा जनमत बनाउने काममा लागिरहेको पनि मेयर दाहालले बताइन् । उनले भने, ‘विगतमा पनि म गठबन्धनबाटै निर्वाचित भएँ । विकास निर्माणले फड्को मारेको छ । गठबन्धनको जितले नै मुलुकलाई राजनीतिक स्थायित्व दिन्छ । कांग्रेसले दुई पटक लगाएको गुन तिर्ने हिसाबले म लागिरहेको छु ।’
विगतमा रवि लामिछानेले कांग्रेस र एमालेको भोट पाएको दाबी पनि उनले गरिन् । दाहालले भनिन्, ‘बीसौं, तीसौं वर्षमा हुन नसकेका काम हामीले गर्ने, अरुले जित्ने हुन सक्दैन । विगतमा रविले संगठित भोट पाएको त होइन नि । कांग्रेस, एमाले र छिटपुट माओवादीको भोट गयो होला । अरु बेला कांग्रेस, एमाले हुने, भोट दिने दिन अर्कै रोज्ने ?’
आफू भारतीय बुहारी नभएको दाबी पनि उनले गरिन् । दाहालले भनिन्, ‘म कसरी भारतीय बुहारी ? म कसरी भारतीय नागरिक ? म प्रचण्डको छोरी हुँ । मेरा श्रीमान् अर्जुन पाठक र ससुरा टेकबहादुर पाठक गुल्मी जिल्लाको हो । मेरो श्रीमान् बसाइँसराइ गरेर चितवनको मतदाता हुनुहुन्छ, ससुरा गुल्मीमै हुनुहुन्छ । भारतको नागरिकता भए देखाइदिनुपर्यो नि ? भन्दिएर हुन्छ ? मैले रविजीलाई प्रश्न गर्दा जवाफ होइन, नवराजकुमारी भनेर गाली गर्ने र श्रद्धाञ्जलि दिने गरिएको छ । यो कस्तो राजनीतिक संस्कार हो ?’

 



प्रतिक्रिया दिनुहोस्