Logo

प्रकाशमानकै उपस्थितिमा वडा भवन बनाउने विषयमा विवाद



काठमाडौं, ८ बैशाख । प्रतिनिधिसभा काठमाडौं-१ बाट निर्वाचित प्रकाशमान सिंहकै उपस्थितिमा वडा भवन बनाउने विषयमा विवाद भएको छ । काठमाडौं महानगरपालिका-२९ को वडा भवन निर्माणस्थलको विषयमा स्थानीय र वडाका प्रतिनिधिहरूबीच विवाद भएको हो ।

मुद्दा लडेर सरकारी जग्गा जोगाएका स्थानीयको सहमति बिनै एकलौटी रुपमा वडा भवन बनाउन खोजिएको आरोप लागेपछि विवाद भएको ।
वडा कार्यालयले भवन बनाउन खोजेको जग्गाभन्दा अन्य जग्गामा भवन बनाउन उपयुक्त हुने स्थानीयको सुझाव छ । तर, वडाध्यक्ष कुश ढकालले वडाले निर्णय गरेकै ठाउँमा भवन बनाउने अडान लिएपछि विवाद भएको हो । वडा कार्यालयले अनामनगरको खेलमैदान नम्बर ८ को १ रोपनी १ आना जग्गामा भवन बनाउन खोजेको छ ।

जग्गा संरक्षण गर्दै आएको सामाजिक विकास समाज र अधिकांश स्थानीय अक्सिडेन्टल पब्लिक स्कूलसँगैको कित्ता नम्बर १० को १ रोपनी ९ आना र ९ नम्बरको १ रोपनी ६ आना जग्गा वडा भवनका लागि उपयुक्त हुने प्रस्ताव गरेका छन् । वडाका प्रतिनिधि र स्थानीयबीच ठाउँको विवाद भएपछि छलफल बिना निष्कर्ष सकिएको छ ।

स्थानीय वरिष्ठ अधिवक्ता मातृका निरौला, पूर्व न्यायाधीश युवराज सुवेदी, अधिवक्ता गुरुभक्त निरौला, अधिवक्ता रक्षा रैका मगर, समाजिक विकास समाजका अध्यक्ष ओम उप्रेती, उपाध्यक्ष गोपालकृष्ण गड्तौलालगायतले अक्सिडेन्टल पब्लिक स्कूलसँगैको कित्ता नम्बर ९ र १० मा प्रयाप्त जग्गा रहेको र त्यसैमा वडा भवन बनाउन सुझाव दिएका छन् तर, वडाध्यक्ष ढकालले कित्ता नम्बर ८ मै वडा भवन बनाइ छाड्ने अडान लिएपछि विवाद भएको हो ।

प्रतिनिधिसभा सांसद सिंह र प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले भने जनभावनाअनुसार वडा बन्ने स्पष्ट पारेका छन् । सरकारी जग्गा जोगाउन स्थानीयसँगै आफूहरू लाग्ने उनीहरूको प्रतिवद्धता रहेको छ ।



प्रतिक्रिया दिनुहोस्