Logo

ईदको अवसरमा प्रधानमन्त्रीको शुभकामना सन्देश : ‘राष्ट्रिय एकताको प्रवर्द्धन गर्नु साझा कर्तव्य’



काठमाडौं, वैशाख ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्वीहरुको ठूलो पर्व ईद (इदुल फित्र) को अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्दै शुभकामना सन्देश जारी गरेका छन् ।

प्रधानमन्त्रीद्वारा जारी गरिएको शुभकामना सन्देशमा ईदको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बीहरूका साथै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीघार्यु, समृद्धि एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरिएको छ ।

उनले इस्लाम समुदायको सबैभन्दा ठूलो एवं महत्वपूर्ण पर्व ईद आपसी सद्भाव, सहकार्य, विश्वास एवं साझा उद्देश्य प्राप्तिको महत्वपूर्ण अवसरका रूपमा आएको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका निम्ति ईद लगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित रहेको जनाएका छन्।

हरेक चाडपर्वहरूको आफ्नो ऐतिहासिकता र विशिष्ट महत्व हुने हुने जनाउँदै प्रधानमन्त्री दाहालले मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्वहरू विकसित र स्थापित हुँदै आएका र ईदले पनि मुस्लिम समुदायको ऐतिहासिकता, पहिचान र संस्कृतिको प्रतिनिधित्व गर्दै आएको जारी सन्देशमा उल्लेख गरेका छन् ।

संन्देशमा भनिएको छ, ‘नेपाली जनताको लामो त्याग र बलिदानबाट निर्मित नयाँ संविधानले विविधतायुक्त नेपाली समाजको आत्मसातीकरणसहित सबै जाति, भाषा, धर्म, संस्कृति र पहिचानलाई समान संवैधानिक अधिकार प्रदान गरेको छ । संविधानमा व्यवस्था भएबमोजिमका अधिकारहरूको दृढतापूर्वक कार्यान्वयन गरी बलियो राष्ट्रिय एकतामार्फत् राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई सुदृढ गर्नु राष्ट्रिय कार्यभार हुन आएको छ । वर्तमान सरकार संविधानप्रदत्त अधिकारहरूको व्यवस्थित कार्यान्वयनमार्फत् सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढ संकल्पित छ ।’

ईद पर्वले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत् बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा प्रदान गर्ने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्