Logo

खगराज अधिकारीलाई धमलाको प्रश्न– कहिले छाड्दै हुनुहुन्छ मुख्यमन्त्रीको कुर्सी ?



काठमाडौं, ९ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो सरकारको सय दिन उपलब्धिमूलक रहेको बताएका छन् ।
‘सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्ने संसदीय परम्परा हो । मैले आफ्नो मूल्यांकन आफैं गरेको होइन, काम गरेका तथ्य बाहिर ल्याएको हुँ । केन्द्रबाट नियुक्त कर्मचारी केन्द्रमा सरकार बदलिने बित्तिकै बदलिए । उनीहरुमा व्यावसायिकता देखिएन । तमाम प्रतिकूलताका बाबजुद पनि छोटो समयमा हामी धेरै काम गरेका छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै अधिकारीले भने ।
प्रदेश सरकारलाई संघीय सरकारले पटक्कै सहयोग नगरेको उनको आरोप छ । अधिकारीले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कुरा राम्रा थिए । तर व्यवहारमा संघीयता बलियो बनाउने कुनै काम गर्नुभएन ।’ गण्डकी प्रदेशमा एक घर, एक धारा र उज्यालो गण्डकी प्रदेश कार्यक्रम ९९ प्रतिशत सफल भएको पनि उनले बताए । अधिकारीले थपे, ‘तनहुँ र नवलपुर जिल्लाका केही गाउँमा बिजुली र वैकल्पिक ऊर्जा पुगेको छैन । अन्यथा प्रायः ठाउँमा विद्युत् र खानेपानीको पहुँच छ ।’
मुख्यमन्त्रीको कुर्सी कहिले छाड्दै हुनुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा अधिकारीले भने, ‘अहिले म कुर्सीमा छैन, बरन्डामा छु । राजीनामा दिने सोचेको छैन । आज विश्वासको मत नपाए संविधानको मर्म र भावना अनुसार गर्छु ।’
प्रदेशसभा बहुमत नदेखिए स्वतः अर्को सरकार बन्ने प्रक्रिया सुरु हुने पनि अधिकारीले बताए । संविधान अनुसार ठूलो दलको हिसाबले कांग्रेसको सरकार बन्न सक्ने उनले औंल्याए । तर अब सातवटा मन्त्रालयलाई बढाउन नैतिक रुपमा नमिल्ने जिकिर पनि उनले गरे । अधिकारीले जोड दिए, ‘मन्त्रालय अब सातवटामै सीमित हुनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्