Logo

वामपन्थी शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामवद्ध हुन प्रधानमन्त्री प्रचण्डको अपिल



काठमाडौं, वैशाख ९ । कम्युनिष्ट पार्टी स्थापनाको ७५औँ स्थापना दिवसको अवसरमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुभकामना व्यक्त गरेका छन् ।

विश्व सर्वहारा वर्गका महान् नेता एवम् समाजवादी क्रान्तिका नायक कमरेड भ्लादिमिर इल्यिच लेनिनको १५३ औं जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको सुखद अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी एवम् प्रगतिशील देशभक्त जनसमुदायमा हार्दिक बधाइसहित शुभकामना व्यक्त गर्दै उनले यस अवसरमा महान जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायत न्याय, समानता र स्वतन्त्रताको बलिदानीपूर्ण संघर्षमा सहादत प्राप्त गर्नुहुने महान् शहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले बेपत्ता योद्धाहरूप्रति उच्च सम्मानका साथ घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । प्रधानमन्त्री प्रचण्डद्वारा जारी संदेशमा भनिएको छ, ‘लेनिन जयन्तीको अवसर पारेर नेपालमा आजभन्दा ७४ वर्ष पहिले २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । वर्गसंघर्ष र विचारधारात्मक संघर्षको लामो श्रृङ्खला एवम् विभाजन र एकताका अनगिन्ती अनुभवहरू हासिल गर्दै कम्युनिस्ट आन्दोलन आजको अवस्थामा आइपुगेको छ । आज नेपालमा कम्युनिस्ट पार्टीको नेतृत्व र पहलकदमीमा भएको ऐतिहासिक संघर्षकै परिणामस्वरूप संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समाजवादउन्मुख नयाँ संविधानको सफल कार्यान्वयनका लागि हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेतृत्वको वर्तमान सरकार प्रतिवद्ध छ ।’

देश अहिले विकास, समृद्धि, स्थिरता र सुशासनको व्यवहारिक अभ्यासको चरणमा प्रवेश गरेको जनाउँदै उनले नेपाली जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पु¥याउन सरकार कटिवद्ध रहेको समेत संदेशमा उल्लेख गरेका छन् ।

उनले अगाडी उल्लेख गरेका छन, ‘शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने दायित्व हाम्रासामु छ । गलत प्रवृत्तिविरूद्ध वामपन्थी, देशभक्त एवम् लोकतान्त्रिक शक्तिहरूको साझा संघर्षको परिणामस्वरूप गत वर्ष भएको चुनावबाट वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरूको साझा गठबन्धनका पक्षमा जनमत प्राप्त भयो । प्रतिगमनविरोधी वामपन्थी तथा लोकतान्त्रिक शक्तिको वर्तमान गठबन्धन प्राप्त उपलब्धिहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ छ ।’

लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसको यस ऐतिहासिक अवसरमा म देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामवद्ध हुन तथा समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुनसमेत प्रधानमन्त्री प्रचण्डले अपील गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्