Logo

पार्टीभित्रकै छद्मभेषी र देशद्रोही तत्त्व लागेर कम्युनिस्ट एकता टिक्न दिएनन्ः एमाले नेता



काठमाडौं, १० वैशाख । नेकपा एमालेका नेता केशवप्रसाद बडालले कम्युनिस्ट आन्दोलनको मूलप्रवाह आफ्नो पार्टी भएको दाबी गरेका छन् ।
‘नेपालको कम्युनिस्ट आन्दोलन ७५ औं वर्षमा प्रवेश गरेको छ । यतिबेला कम्युनिस्ट पार्टीहरु किन मिल्न सकेनन् ? वामपन्थीहरुलाई एकताबद्ध हुन बिथोल्ने को हो भन्ने बहस आवश्यकछ । कम्युनिस्ट आन्दोलनको मूलधार हामी नै हो भन्ने प्रमाण संस्थापक नेता पुष्पलालकी पत्नी सहाना प्रधान, पहिलो महाधिवेशनका महासचिव मनमोहन अधिकारी र तेस्रो महाधिवेशनका महासचिव तुलसीलाल अमात्य जीवनपर्यन्त एमालेमै क्रियाशील हुनु पनि हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै बडालले भने ।
सबै कम्युनिस्टहरु नेकपा एमालेमा गोलबन्द हुनुपर्ने पनि उनले औंल्याए । बडालले भने, ‘२०५२ मा संसदीय व्यवस्थालाई खन्तीखलास बनाउने भनेर हिँडेका माओवादीहरु आज यही व्यवस्थामा छन् । अब अलमल नगरौं, सही पार्टी नेकपा एमाले नै हो ।’
कम्युनिस्ट पार्टीको दुई तिहाइको सरकार त पाँच वर्ष टिकेन, अब केका लागि एकता भन्ने पत्रकार धमलाको प्रश्नमा बडालले भने, ‘कम्युनिस्ट पार्टीको सरकारमात्र पाँच वर्ष नटिकेको होइन । सबैलाई एउटै डालोमा नराख्नुस् । राजाले पनि पाँच वर्ष प्रधानमन्त्री टिकाएनन् । २०४८ र २०५६ मा कांग्रेसले पनि टिकाएन । कम्युनिस्ट पार्टीलाई कमजोर बनाउने पनि नेताहरु नै हुन् । पार्टीभित्रकै छद्मभेषी र देशद्रोही तत्त्व लागेर टिक्न दिएनन् । तिनीहरु बिस्तारै पाखा लाग्दै जान्छन् ।’



प्रतिक्रिया दिनुहोस्