काठमाडौं, वैशाख १२ । प्रतिनिधिसभा उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी भएपछि अर्का उम्मेदार नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिएका छन् ।
आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत वाग्लेलाई बधाई दिँदै भट्टराईले विकासको अपेक्षा गरेर आफूलाई मत दिएका मतदाताप्रतिको अभिभारा पनि स्वर्णिममाथि आएको जनाएका छन् ।
उनले लेखेका छन्, ‘प्रिय स्वर्णिमजी ! सर्वप्रथम तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यका रुपमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई ! चुनावी यात्राका दौरानमा हामीबीच सौहार्द प्रतिष्पर्धा रह्यो र संयोगले तपाईं निर्वाचित हुनुभयो । मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईंले सक्नुभयो । तपाईं यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा मप्रतिका विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब तपाईंको अभिभारा बन्न पुगेको छ ।’
उनले अगाडी लेखेका छन्, ‘मैले पदको सपना नदेखे पनि यस क्षेत्रको विकासे अभियन्ताका रुपमा निरन्तर खटेको हुँ। अब पनि खटिरहनेछु । अनि तपाईंले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ । यहाँका मतदाताको अति ठूलो अपेक्षा अनि भरोशा पूरा गर्न र राजनीतिक यात्रामा अब्बल बन्न सक्नुहोस्, मेरो धेरै धेरै शुभकामना छ ।’
तनहुँ १ मा वाग्लेले ३४ हजार ९१८ मतसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी भट्टराईले २० हजार १२२ मत पाएका छन्।