Logo

अब संसदमा राजनीतिक गतिरोध अन्त्य भयोः एमाले प्रमुख सचेतक



काठमाडौं, १२ वैशाख । प्रतिनिधिसभामा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले हिजोको शीर्ष नेताहरुको बैठकले संसदमा राजनीतिक गतिरोध अन्त्य भएको बताएका छन् ।
‘संसद् जे विषयवस्तुका कारण अगाडि बढ्न सकिरहेको थिएन, त्यसमा एकखाले सहमति बन्यो । अब संसदमा राजनीतिक गतिरोध अन्त्य भयो । संसदीय समिति र संयुक्त समिति कुन कुन दलले कसरी लिने भन्ने मोटामोटी सहमति भएको छ । टीआरसी विधेयक विशेष समितिमा छलफल गरेर द्रुत गतिमा अगाडि बढाउने र संवैधानिक परिषद् सम्बन्धी विधेयक फुल हाउसबाट भोलि नै पारित हुनेछ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
संसद्लाई गतिशील, प्रभावकारी र जनउत्तरदायी बनाउने कुरामा प्रमुख दलहरु सैद्धान्तिक रुपमा एकमत रहेको पनि गिरीले बताए । उनले भने, ‘हिजो शीर्ष नेताहरुको बैठक उपलब्धिमूलक भएको छ । नमिलेका विषय एकदुई दिनमै सबै प्रक्रिया अनुसार टुंग्याउने कुरा छ ।’ उनका अनुसार १० वटा विषयगत समितिमध्ये सार्वजनिक लेखा र अर्को समितिको नेतृत्व एमालेले गर्ने सहमति भएको छ भने दुई संयुक्त समितिमा सुनुवाइ समिति कांग्रेस र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति एमालेले लिनेछन् । सुनुवाइ समितिमा संसद्को उपस्थितिका आधारमा एमाले चार जना सदस्य रहने पनि सहमति भएको छ ।
प्रमुख सचेतक गिरीले प्रमुख राजनीतिक दलहरुलाई उपनिर्वाचनको मतपरिणामले घन्टी बजाएको बताए । उनले भने, ‘देशमा बेरोजगारी र भ्रष्टाचारले चरम निराशा छ । आम जनताले घन्टी बजाएकै हो । राजनीतिमा के भइरहेको छ भन्ने बारेमा ठूला दलहरुले गम्भीर र खुलस्त समीक्षा गर्नुपर्छ । जनताप्रति जवाफदेही र जिम्मेवार भएर लाग्नु पर्छ ।’ भोलिका दिनमा सुशासन र समृद्धिका पक्षमा लाग्ने सके ठूला दलहरुले जनताको साथ र सहयोग पाउने अवस्था दाबी पनि उनले गरे ।

 



प्रतिक्रिया दिनुहोस्