Logo

गठबन्धनका नेताहरूले घुमाइफिराइ रवि लामिछानेलाई नै जिताएः रामनारायण बिडारी



काठमाडौं, १२ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वसांसद रामनारायण बिडारीले संक्रमणकालीन न्यायलाई ढिलाइ गर्नकै लागि  नेकपा एमालेसँग हिजो सहमति भएको बताएका छन् ।
‘ठूला दलहरुबीच भागबन्डा त चलि नै रहन्छ । संसदीय समितिमध्ये सार्वजनिक लेखा समिति प्रमुख विपक्षलाई दिने चलन हो । बाँकी त सत्तापक्षले नै सञ्चालन गर्नुपर्ने हो । एमालेलाई जे गरेर भए पनि संक्रमणकालीन न्याय ढिला गर्नुपर्थ्यो, त्यो सहमति बमोजिम अब ढिलै हुने भयो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै बिडारीले भने । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय सहमतिलाई लिएर चिन्तित भएको बताए ।
माओवादी नेता बिडारीले चितवन २ को उपनिर्वाचनमा गठबन्धनका नेताहरुले घुमाइफिराइ रविजीलाई नै समर्थन गरेको आरोप पनि लगाए । उनले थपे, ‘रविजीले दुइटा पासपोर्ट लिएकामा मुद्दा लगाउनु पर्दैन भनेर निर्णय कसले गरेको हो ? महान्यायाधिवक्ता त बिचरा हो, सबै निर्णय शीर्ष नेताहरुले गरेका हुन् । नेताहरुले चितवनमा गएर भाषण त गरे, तर रविको मुद्दा फेरि चल्छ, ६ महिनापछि फेरि उपचुनाव हुन्छ भनेर कुनै नेताले भने ? रविजी किन अमेरिकी नागरिक बन्नुभयो, किन त्याग बन्नुभयो ? कारण, उद्देश्य र योजनाबारे कसैले व्याख्या गर्‍यो त ?’
उनले तनहुँ १ मा कांग्रेसले कांग्रेसलाई मतदान गरेर स्वर्णिम वाग्लेलाई जिताएको पनि बताए । बिडारीले भने, ‘गठबन्धनले उम्मेदवार उठाएको जस्तो मात्र गरेको हो । तनहुँ १ मा कांग्रेसबाट पनि कांग्रेस उठेको थियो, रास्वपाबाट पनि कांग्रेस नै उठेको थियो । स्वर्णिमजी कांग्रेस होइन ? संसदमा रविजीसँग २० भोट छ । त्यो देउवालाई पनि चाहिएको छ, प्रचण्डलाई पनि चाहिएको छ । चितवनमा एमालेले पनि रविजीलाई जिताउन खाल्टे उम्मेदवार उठाएको हो ।’
बारा, चितवन र तनहुँको उपनिर्वाचनमा अमेरिकी प्रभाव परेको पनि बिडारीले बताए । उनले भने, ‘अब जनताले फेरि दुःख पाउने भए । राम्रो काम होइन, राम्रो कुरा गरिदिएको भरमा भोट हाल्न थाले । गठबन्धनलाई झापड भने पनि जे भने पनि यो राजनीतिक दलहरुबीच तालमेल नै हो । नेपाल गरिब भएको के कारणले ? कसरी चलेको छ देश ? हाम्रा युवाहरु ज्याला गर्न गएका छन्, त्यसमा सरकारले कर लगाइदिन्छ, त्यही खाएर मन्त्री र कर्मचारी ढ्याउ ढ्याउ गर्छन् । जनताले विकल्प त खोजे तर विकल्प झन् खराब भयो ।’
रवि लामिछानेको पार्टीले नयाँ शक्तिको चाहना पूरा गर्न नसक्ने पनि उनको दाबी छ । बिडारीले भने, ‘अलि गतिलो सरकार र गतिलो महान्यायाधिवक्ता भयो भने रविजीलाई फेरि मुद्दा लाग्छ । उहाँले झूटा विवरण दिनुभयो । दुइटा पासपोर्ट बोकेर हिँड्ने पनि नेपाली हुन्छ ? दोहोरो घरबार बनाउन मिल्छ ? रविजीसँग प्रचण्डले सम्झौता गर्नुभयो, मलाई पटक्कै मन परेको छैन । मलाई मन नपरेर के हुन्छ ? तर त्यो गलत थियो ।’ अब निर्वाचन प्रणाली लगायतका विषयमा संविधान संशोधनको पहल गर्नुपर्ने पनि उनले औंल्याए ।

 



प्रतिक्रिया दिनुहोस्