Logo

सडकमा कुनै पागलले कराउँदैमा पार्टीको नेतृत्व परिवर्तन हुन सक्दैन : कांग्रेस सहमहामन्त्री



काठमाडौं, १३ वैशाख । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले एकदुई क्षेत्रमा निर्वाचन हार्दैमा पार्टी पत्तासाफ नहुने बताएका छन् ।
‘यसपटकको उपनिर्वाचनमा नेपाली कांग्रेस जम्मा दुई ठाउँमा लडेको थियो, एक ठाउँमा गठबन्धन दललाई छाडेको थियो । एकदुई ठाउँमा चुनाव हार्दैमा राजनीति समाप्त वा पत्तासाफ हुन सक्दैन । २०६४ मा माओवादी र मधेसवादीले जित्दा कांग्रेस र एमालेको अवस्था के थियो ? २०७० मा फेरि कांग्रेस ठूलो पार्टी भएकै हो नि,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै मन्सुरले भने ।
कांग्रेस सहमहामन्त्री मन्सुरले तनहुँ १ मा पार्टीको पराजयका कारण पार्टीपंक्ति निराश हुनु नपर्ने पनि बताए । उनले थपे, ‘हो, तनहुँ १ कांग्रेसको राम्रै ठाउँ हो । तर २०७४ मा पनि त रामचन्द्रजीले हार्नुभएको थियो नि । २०७९ मा २५ हजार मत ल्याएर जित्नुभयो । अहिले गोविन्द भट्टराईजीले २० हजार ल्याएर हार्नुभयो । तनहुँमा कांग्रेसको ५ हजार मत कम भएको साँचो हो । उसो भए एमालेको ११ हजार मत कहाँ गयो त ? राजनीतिमा कहिलेकाहीं चटक वा हावाहुरी आउँछ, तर त्यो चाँडै समाप्त हुन्छ । पार्टीपंक्ति निराश हुनुपर्ने कारण छैन ।’
अब गोविन्दराज जोशीलाई कांग्रेस मान्नु नपर्ने पनि मन्सुरले औंल्याए । उनले भने, ‘तुलसी गिरीले पञ्चायत स्वीकार गरेपछि हामीले कांग्रेस मानेनौं । कांग्रेसविरुद्ध गएका गोविन्दराज जोशीलाई किन मानिराख्ने ? हामीले उहाँलाई सुध्रिने मौका दियौं, उहाँ सुध्रिनुभएन । पार्टीमा विचारले आउने-जाने हुन्छ । करबलले त हुँदैन नि । तर हामी पार्टीमा सम्पूर्ण लोकतन्त्रवादीलाई स्वागत नै गर्छौं ।’
पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा उपनिर्वाचनको निर्ममतापूर्वक समीक्षा र गहन विश्लेषण हुने पनि उनले बताए । मन्सुरले थपे, ‘पार्टीमा अनुशासन र भावनात्मक एकतामा कमी भएको हामीले महसुस गरेका छौं । हामी कहाँनेर चुक्यौं ? अब कसरी जाने ? आगामी दिनमा नयाँ रणनीति बनाउँछौं ।’
पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशनबाहेक कसैले हटाउन नसक्ने पनि मन्सुरले औैंल्याए । उनले भने, ‘शेरबहादु देउवा नेपाली कांग्रेसको सभापति र संसदीय दलको नेता हुनुहुन्छ । उहाँको ६ दशक लामो राजनीतिक यात्रालाई इन्कार गर्न सकिँदैन । पार्टी सभापतिको छिनोफानो महाधिवेशनले गर्छ, संसदीय दलले आफ्नो नेता छान्छ । यसबाहेक सडकमा कुनै पागलले कराउँदैमा पार्टीको नेतृत्व परिवर्तन हुन्छ ? सडकबाट नेतत्व परिवर्तन गर्न सकिँदैन ।’

 



प्रतिक्रिया दिनुहोस्