काठमाडौं, १४ बैशाख । आम जनता पार्टीले आगामी जेठ १८ गतेदेखि देशलाई संकटबाट जोगाउन जागरण यात्रा थाल्ने भएको छ । आज (बिहीबार) बसेको पार्टी पदाधिकारीको बैठकले यस्तो निर्णय लिएको हो ।
अध्यक्ष प्रभु साहको अध्यक्षतामा बसेको बैठकले बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा पार्टीेले बारा २ मा निर्वाचनमा भाग लिएको र एक्लै निर्भिकतापूर्वक चुनाव लडेको स्मरण गर्दै चुनावमार्फत पार्टीको संगठनको विजारोपण भएको निश्कर्ष निकालेको छ ।
उपनिर्वाचनमा घोषित तथा अघोषित गठबन्धन एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सत्ता र शक्तिको प्रत्यक्ष टकराब भएको पनि बैठकको निश्कर्ष थियो । यस्तो विषम तथा संवेदनशील परिस्थितिमा पनि आजपाप्रति विश्वास गरी मतदान गर्ने मतदाताप्रति बैठकले आभार व्यक्त गरेको छ ।
यस्तै, आगामी १८ मे मा अन्तर्राष्ट्रिय मजदूर दिवसलाई पार्टीको केन्द्रीय कार्यालयमा एक औपचारिक समारोहकाबीच मनाउने निर्णय गरिएको प्रवक्ता सिबी साहले जानकारी दिए । बैठकले पार्टी र जनसंगठनका कार्यहरुलाई व्यवस्थित गर्नेपनि निर्णय लिएको छ ।
आजपाले देश क्रमशः भ्रष्टाचार, बेथिति, कुशासन, आर्थिक, सामाजिक र राजनीतिक रुपमा संकटग्रस्त बन्दै गएको निश्कर्ष निकालेको छ । यस्तो विषम परिस्थितिलाई आत्मसात् गर्दै देशलई संकटबाट जोगाउन आगामी जेठ १८ गतेदेखि पश्चिम नपालको महेन्द्रनगरबाट जागरण यात्राको शुभारम्भ गर्ने भएको छ ।