Logo

गृह मन्त्रालयमा नै विकृति : कामै नभएकालाई भनसुनमा काज



काठमाडौं, वैशाख १५। सुराकी खर्च खारेजी गरेर चर्चामा आएका गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयको काज सरुवा विकृतिलाई भने रोक्न सकेका छैनन्। मन्त्री श्रेष्ठ गृहमन्त्री भएर आएपछि पनि भनसुनमा काज सरुवा मिलाएर गृह मन्त्रालयमा नै बस्ने र हाजिर गरेर टाप कस्ने प्रवृत्ति रोकिएको छैन ।

निजामती प्रशासनमा भनसुन चल्नेहरूले आफ्नो अनुकूल हुनेगरी जुनसुकै निर्णय पनि गराउने गरेका छन् । उनीहरूले त्यसरी निर्णय गराउँदा शक्ति, पहुँच र आवश्यक परे पैसासमेत खर्च गर्ने गरेको सरकारकै अधिकारीहरूको दाबी छ । यस्तो प्रवृत्तिलाई सरुवा विकृतिको रूपमा लिइन्छ । अहिले गृह मन्त्रालयमा यस्तै विकृति देखिएको स्रोतको दाबी छ ।

हाल गृह मन्त्रालयको कुनै अनुभव नै नभएकालाई गृह मन्त्रालयमा नै महिनौंसम्म काजमा राख्ने गरी निर्णय गरिएको छ । त्यस्ता कर्मचारीको काम मन्त्रालयमा आउने, हाजिर गर्ने र घर फर्कनेमा नै बित्ने गरेको छ ।

गृह मन्त्रालयले केही समयअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत केही शाखा अधिकृतलाई विभिन्न जिल्लास्थित प्रशासन कार्यालयमा सरुवा गरेको थियो । तर, त्रिभुवन विमानस्थलमा कार्यरत रही अन्यत्र सरुवा भएका केही ‘डन कर्मचारी’हरूले भने जिल्लामा नगई सीधै गृह मन्त्रालयमा नै बस्ने गरी काज मिलाउन सफल भएका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट झापा सरुवा भएकी शाखा अधिकृत मिनाक्षी भुर्तेल र गुल्मी सरुवा भएकी जुना खड्का भनसुन र अन्य उपाय लगाएर मन्त्रालयमा नै काज सरुवा गराउन सफल भएको बताइन्छ । उनीहरूसँग गृहमा काम गरेको खासै अनुभव छैन । तर, पनि उनीहरू दुवै जनालाई झापा र गुल्मी नै जान नपर्ने गरी गृहमन्त्रालयमा नै काजमा व्यवस्थापन गरिएपछि त्रिभुवन विमानस्थलबाट अन्यत्र सरुवा भएका कर्मचारीहरू असन्तुष्ट बनेका छन् । गृह मन्त्रालयको नेतृत्वले कसैलाई काखा र कसैलाई पाखा गरेको भन्दै मन्त्रालयभित्रै विरोध र आलोचना भएको छ । यसमा समेत चासो नदिएको भन्दै गृहमन्त्री श्रेष्ठको पनि विरोध भएको छ ।

त्रिभुवन विमानस्थलबाट सरुवा भएका सबैलाई सरुवा भएको हो, त्यहीँ पठाउनु पर्नेमा दुई जनालाई काजमा मन्त्रालयमा ल्याइएको र हाजिर गर्दै घर फर्कन पाउने गरी सुविधा दिइनुलाई शंकाको रूपमा हेरिएको छ । दुबै जनालाई मन्त्रालयले कुनै जिम्मेवारी पनि दिएको छैन । उता जिल्लामा उनीहरूको दरबन्दी यथावत राख्दा सो ठाउँमा शाखा अधिकृतसमेत रिक्त भएको छ र जिल्ला प्रशासन कार्यालयको कामकाज समेत प्रभावित भएको बताइन्छ ।

यसै गरी गृह मन्त्रालयले तीनजना सहसचिवलाई समेत जिम्म्मेवारी नदिएर त्यसै बरण्डामा राख्दै आइरहेको छ । सहसचिव जस्तो व्यक्तिलाई जिम्मेवारी नदिँदा उनीहरूको मनोबल गिरेको बताइएको छ । सहसचिव वासुदेव घिमिरे र कुलबहादुर विसीलाई जिम्मेवारी नै नदिएर त्यसै राखिएको छ । यस्तै, तीनजना उपसचिवहरू शिव लम्साल, कुलबहादुर विसी र उमाकान्त अधिकारीलाई पनि जिम्मेवारी नदिई त्यसै बरण्डामा थन्काइएको छ ।

त्यति मात्रै होइन, गृहमन्त्रालयले विभिन्न मन्त्रलायबाट गृहमा सरुवा भई आएका १६ जना शाखा अधिकृतलाई पनि पदस्थापन गर्न सकेको छैन । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्