Logo

शिक्षकलाई भोज खुवाउन विद्यार्थीसँग शुल्क असुल्दै सर्लाहीका सामुदायिक विद्यालय



बखतियार अलि
सर्लाही, बैशाख १६ । शिक्षकलाई भोजभतेर खुवाउने बहानामा सर्लाहीको गोडैता नगरपालिकामा रहेको एक सामुदायिक विद्यालयले स्थानान्तरण सर्टिफिकेट (ट्रान्सफर सर्टिफिकेट) लिन आउने विद्यार्थी र तीनका अभिभावकसँग नियम विपरीत शुल्क असुल्ने गरेको पाइएको छ ।

विद्यार्थीहरुलाई पढाएर सेवा प्रदान गरेको र सोही बापत पढाउने शिक्षक तथा शिक्षिकाहरुलाई भोजभतेर खुवाउने भन्दै गोडैता नगरपालिका वडा न(१,बहादुरपुरको श्री नवयुवक प्राथमिक विद्यालयले नियम विपरीत प्रति विद्यार्थी ५ सयदेखि ७ सय रुपैयाँसम्म शुल्क उठाउने गरेको अभिभावकको गुनासो छ ।

नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क बनाए पनि सामुदायिक विद्यालयहरुले यसरी विभिन्न बहानामा विद्यार्थीबाट शुल्क उठाउनु संविधान र नियमविपरीत भएको वडा न-१ बहादुरपुरका वडाध्यक्ष सोजित महतोले बताए।

संविधानको धारा ३१ को बुँदा २ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य निःशुल्क तथा माध्यमिक तहको शिक्षा निःशुल्क पाउने भनी उल्लेख गरिएको भएपनि उक्त विद्यालयले संविधान विपरीत रकम असुलेर गैरकानुनी काम गरेको वडाध्यक्ष महतोको भनाई छ ।

‘अभिभावक र विद्यार्थीहरु वडा कार्यालयमा आएर गुनासो गरेपछि हामीले यी कुराहरु (शुल्कसम्बन्धी) थाहा पाएर यसबारे विद्यालयमा गएर बुझ्न खोज्दा प्रध्यानाध्यापक लालबाबु रायले विद्यार्थीलाई ५ वर्षसम्म पढाए सेवा गरेको र सोही बापत भोजभतेर खान र शिक्षकहरुलाई बाँड्न पैसा लिएको स्विकारे ।

उनले भोज खान लिएको पैसाको रसिद नहुँने र त्यसैले विद्यार्थीहरहलाई रसिद नदिएको ठाडो जवाफ फर्काएरको वडाध्यक्ष महतोले बताए । यस विषयमा सो विद्यालयका शिक्षक रामबहादुर महतोसँग सोध्दा यस विषयमा आफुलाई कुनै जानकारी नभएको बताएका छन् ।उता गोडैता नगरपालिका शिक्षा शाखाका प्रमुख प्रमोद यादवले पनि सर्टिफिकेट लिन आउने विद्यार्थीसँग पैसा लिने नियम नभएको र पालिका अन्तर्गतका कुनैपनि सरकारी विद्यालायलाई पैसा असुल्न भनि यस शाखाबाट निर्देशन नगएको बताएका छन् ।

नेपाल-भारतको सिमाना नजिकै पर्ने श्री नवयुवक प्राथमिक विद्यालयमा ५ कक्षासम्म मात्र पढाइ हुने यस विद्यालयबाट निस्किएर अन्य विद्यालयमा भर्ना गराउनको लागि ट्रान्सफर सर्टिफिकेट र मार्कसिटको आवश्यक्ता पर्ने भएकोले सो कागजात लिन जाँदा विद्यालयका प्राधानाध्यापक लालबाबु रायले ५ सयदेखि ७ सय रुपैयाँ मागेको र सो बापत रसिद समेत नदिएको विद्यालय परिसरमा भेटिएका अभिभावकहरुले बताएका छन् ।

अभिभावकहरुका अनुसार पठनपाठनको मामिलामा एकदम कमजोर अवस्था रहेको यस विद्यालयबाट ५ कक्षा पास भएका विद्यार्थीहरुको अन्य सामुदायिक विद्यालयमा भर्ना गराउन जाँदा एकैपटक ३ कक्षा घटाएर भर्ना गर्ने गरिएका छन् ।
विद्यालयले खुवाउने दिवा खाजासमेत अनियमित रहेको र खुवाएपनि गुणस्तरहीन र अस्वस्थकर रहेको अभिभावकहरुको गुनासो छ। विद्यालयका प्रअ रायले ूनपढेपनि परिक्षामा पास गरिदिन्छुू, भन्ने प्रलोभन देखाएर विद्यार्थीहरुसँग आफ्नो घर तथा खेतबारीको काममा लगाउने गरेको विद्यार्थीहरुले बताए।

नियमावलीमा सार्वजनिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक वापतको शुल्क तथा विद्यार्थीको नाममा कुनै किसिमको शुल्क लिन नपाइने व्यवस्था छ। कुनै विद्यालयले ऐनविपरीत विद्यार्थीसँग कुनै शुल्क लिएमा त्यस्तो शुल्क फिर्ता गराउने प्रावधान पनि छ।

ऐनविपरीत शुल्क लिने विद्यालयलाई तोकिएको अधिकारीले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान शिक्षा ऐनमा छ। तर पनि तराई मधेसका जनताहरुको अज्ञानता र अशिक्षाका कारण सामुदायिक विद्यालयहरुले ऐनविपरीत रकम असुली रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्