Logo

रविको जवाफले प्रधानमन्त्री दाहाल निराश, सबै माग पूरा गर्ने वचन



काठमाडौं, १७ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सहभागी हुन गरेको प्रस्ताव रास्वपाका सभापति रवि लामिछानेले अस्विकार गरेका छन् । बैशाख १० गतेको उपनिर्वाचन जितेपछि पहिलोपटक बालुवाटार पुगेका लामिछानेले आफूहरु प्रतिपक्षमा बस्ने जवाफ दिएका थिए । प्रधानमन्त्री दाहालले भने सरकारलाई दिएको समर्थन फिर्ता नलिन र बरु सरकारमै सहभागी हुन आग्रह गरेका थिए ।

उपनिर्वाचन जितेपछि लामिछानेले आफूहरु सरकारलाई दिएको समर्थन फिर्ता लिने मुडमा रहेको प्रतिक्रिया दिएका थिए । रविको उक्त प्रतिक्रिया आएपछि प्रधानमन्त्री दाहालले उनलाई फोन गरेर हतारमा निर्णय नलिन भनेका थिए । प्रधानमन्त्री दाहालले आफूलाई फोन गरेको कुरा स्वयम रविले पनि खुलासा गरिसकेका थिए । आज विहान प्रधानमन्त्री दाहालले बोलाएपछि लामिछाने बालुवाटार पुगेका थिए ।

बालुवाटारको भेटमा उनले आफूहरु सरकारमा सहभागी नहुने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निश्कर्षमा पुगेको सुनाएका थिए । लामिछाने सरकारले न्यूनतम साझा कार्यक्रमबाट भ्रष्टाचारको फाइल खोल्ने कार्यक्रम हटाएकोमा आक्रोशित बनेका थिए ।

उनले भ्रष्टाचारको विषयमा आफ्नो दल निर्मम रुपमा प्रस्तुत हुने भन्दै कार्यक्रमबाट उक्त विषय हटाएपछि अब सहकार्य गर्न नसकिने धारणा राखेका थिए । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक भोलिको लागि डाकिएको छ ।



प्रतिक्रिया दिनुहोस्