Logo

संविधानको पूर्ण कार्यान्वयनबाट श्रमिकको हक स्थापित गर्न सकिन्छ : मन्त्री शर्मा



काठमाडौं, वैशाख १८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानको पूर्ण कार्यान्वयनबाट श्रमिकको हक स्थापित गर्न सकिनेमा जोड दिएकी छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै उनले संविधान प्रदत्त मौलिक हकको कार्यान्वयनबाट श्रमिक वर्गको पक्षमा पर्याप्त काम गर्न सकिने आधार तयार भएको उल्लेख गरेकी छन् ।

‘नेपालमा श्रमिकका पक्षमा विविधखाले आन्दोलन हुँदै आएका छन् । किसान मजदुरसहित श्रमजीवी वर्गको सहभागितामा नेपालमा भएका ठूलाठूला राजनीतिक आन्दोलनको परिणामस्वरूप संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ जनताको बलिदानपूर्ण सङ्घर्षको जगमा बनेको संविधानले श्रमको हकलाई मौलिक हककै रूपमा स्थापित गरेर श्रमिक वर्गको हकहितलाई प्राथमिकता दिएको छ,’ मन्त्री शर्माले भनेकी छन् ।

सरकार प्रवक्तासमेत रहेकी शर्माले प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुने, प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने, प्रत्येक श्रमिकलाई कानुनबमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्न पाउनेजस्ता प्रावधान मौलिक हकमै समेटिएको पनि विज्ञप्तिमा उल्लेख गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस्