Logo

ठूला दलमाथि खनिए आजपाका वरिष्ठ नेता बद्रि न्यौपाने



काठमाडौं, १८ बैशाख । आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष बद्रिप्रसाद न्यौपानेले ठूला दलले नेपालको विकासको लागि केही नगरेको आरोप लगाएका छन् । उनले भने,‘चाहे त्यो २०६२/०६३ को आन्दोलनमा होस वा अन्य परिवर्तन, देशमा खोई त जनताले खोजेको परिवर्तन ? खोई त जनतालाई उकास्ने काम भएको हो ? जनताका पीर, मर्का हल गर्न यी ठूला दलले केही गरे त ? केही पनि गरेनन् ।’

आज (सोमबार) काठमाडौंस्थित् पार्टी मुख्यालयमा आम श्रमिक महासंघद्धारा आयोजित अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ठूला दलले ०४६ सालदेखि राज्यको दोहन गरेको उनको आरोप छ । उनले नेपालको परिवर्तनका हरेक आन्दोलन र संघर्षमा मजदुर, किसान, विद्यार्थी र युवाहरुको निर्णायक भूमिका रहेको स्मरण गराए ।

ठूला दलले सत्ताको लागि दलीय भागबण्डा (सिण्डिकेट) मात्रै गरेको न्यौपानेको आरोप छ । उनले आफ्नो दल नेपालमा वैकल्पिक शक्तिको रुपमा उदाउने विश्वास दिलाए । भर्खरै जन्मिएको आफ्नो दलले हालै सम्पन्न भएको उपनिर्वाचनमा बारा–२ मा करिब तीन हजार मत ल्याएर संगठनको विजारोपण गरेको पनि उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्