काठमाण्डौ, वैशाख १९ । नेपाल र यूएईबीचको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल आज हुँदैछ । सोमबार वर्षाका कारण रोकिएको खेल आज यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रन जोडेको अवस्थाबाट नै पुनः सुरु हुनेछ ।
कीर्तिपुर मैदानमा खेल रोकिनुअघि पहिला ब्याटिङ गरिरहेको यूएई २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रनको सामान्य अवस्थामा छ । आजको ‘रिजर्भ डे’ मा बिहान ९ बजे यूएईले खेल थाल्नेछ । नेपाली स्पिनर ललित नारायण राजवंशी ह्याट्रिक विकेटको नजिक छन् । आज पनि पानी पर्ने पूर्वानुमान गरिएको छ । वर्षाले खेल रोकिएमा ओभर घटाएर खेलाइनेछ ।
ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर खेलाइनेछ । सुपर ओभर पनि हुन नसक्ने अवस्थामा भने एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको आधारमा नेपाल विजेता हुनेछ र आउँदो सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसीसी प्रिमियर कप क्रिकेटको आज हुने फाइनल खेलमा दर्शकलाई निःशुल्क प्रवेश दिने भएको छ।
हिजोको खेलमा साधारण टिकट २ सय रुपैयाँ राखिएको थियो । तर वर्षाको कारण फाइनल खेल पूरा हुन नसकेपछि आज हुन लागेको हो । ‘रिजर्भ डे’ का रुपमा खेल सारिएपछि दर्शकलाई प्रवेश निःशुल्क गरिएको हो ।