Logo

सञ्चार क्षेत्रको पुनर्संरचना आवश्यक : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, वैशाख २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको मूल मर्म, भावना र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्यअनुरूप नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना गर्नुपर्ने बताएका छन्।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्नका लागि आवश्यक कानुन र संरचना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले संवैधानिक दृष्टिले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गरिएको स्मरण गर्दै यसलाई कार्यान्वयनमा ल्याउन सरकारले सञ्चार क्षेत्रको संरक्षण, संवद्र्धन एवं विकासका निम्ति यसको पुनर्संरचना, नीतिगत र कानुनी सुधारका क्षेत्रमा जोड दिएको बताएका छन्। उनले सञ्चार क्षेत्रले पनि आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, पत्रकारको दक्षता अभिवृद्धिका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, सञ्चारमाध्यमको नियमनका लागि आमसञ्चार प्राधिकरण जस्ता निकायको स्थापना गर्न पहल भइरहेको बताएका छन्।



प्रतिक्रिया दिनुहोस्