Logo

रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने कुरा हल्लैहल्ला हो : एमाले उपाध्यक्ष



काठमाडौं, २२ वैशाख । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री युवराज ज्ञवालीले नक्कली भुटानी शरणार्थी प्रकरणका नाममा राजनीतिक प्रतिशोध साँध्न नमिल्ने टिप्पणी गरेका छन् ।
‘भ्रष्टाचार लोकतन्त्रको सबभन्दा ठूलो शत्रु हो । नेकपा एमालेले भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने महान् उद्देश्य लिएको छ । नक्कली शरणार्थी प्रकरण अत्यन्त गम्भीर कुरा हो । त्यसमा हाम्रो पार्टीका टोपबहादुर रायमाझी र रामबहादुर थापा बादल कमरेडको नाम जोडिएको छ । पर्याप्त तथ्य र प्रमाण छ भने त्यसलाई ढाकछोप गर्ने वा जोगाउने काममा एमालेले लाग्दैन । तर भ्रष्टाचारको अन्त्यका नाममा राजनीतिक प्रतिशोध नलिइयोस्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै ज्ञवालीले भने ।
विभिन्न व्यक्तिको नाम जोडेर एमालेलाई बदनाम नगर्न पनि उनले चेतावनी दिए । ज्ञवालीले भने, ‘टोपबहादुरजी किन सम्पर्कविहीन हुनुहुन्छ, त्यो उहाँले जान्ने बुझ्ने कुरा हो । केही काममा हुनुहोला । हामीलाई थाहा छैन । तर पार्टीलाई बदनाम गर्नुभएन नि । एमालेको दृढ धारणा के हो भने दोषी उम्किनु पनि भएन, निर्दोष फस्नु पनि भएन ।’ जतिसुकै हाई-प्रोफाइलको व्यक्ति भए पनि भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको उनले औंल्याए ।
एमाले अध्यक्ष केपी शर्मा ओली भ्रष्टाचारी जोगाउन नलाग्ने पनि ज्ञवालीले स्पष्ट पारे । उनले भने, ‘यस्ता प्रकरणमा नामहरु आउँछन्, को दोषी हो, को होइन ? छानबिन हुँदैछ । यस्तो कुरालाई छुट दिने कुरै छैन । जहाँ सुकै भए पनि जतिसुकै माथि भए पनि । कसैको कमीकमजोरी छ भने ओली कमरेड पनि बचाउन लाग्नुहुन्न ।’
नेकपा एमाले सरकार ढाल्ने खेलमा नलागेको पनि उपाध्यक्ष ज्ञवालीले बताए । उनले भने, ‘एमाले अस्थिरताको कारक बन्न चाहँदैन । सरकार ढाल्ने खेलमा लागेको छैन र लाग्नुहुन्न । अहिलेको अवस्थामा प्रधानमन्त्री र मन्त्री बाँड्दै हिँड्नु गलत हो । हाम्रा अध्यक्षले पनि होइन भनिसक्नुभएको छ । रवि (लामिछाने) जीलाई प्रधानमन्त्री बनाउने हल्लैहल्ला मात्र हो । त्यो बाटो लाग्नै हुँदैन ।’



प्रतिक्रिया दिनुहोस्