काठमाडौं, २४ वैशाख । जनता समाजवादी पार्टीका प्रभावशाली नेता एवं सांसद राजकिशोर यादवले राष्ट्रपति रामचन्द्र पौडेलबाट पुरानै नागरिकता विधेयक प्रमाणीकरण गर्नु अतिआवश्यक रहेको बताएका छन् ।
‘राज्यको उदासीनता र केही व्यक्तिको हठका कारण लाखौं लाख नेपाली नागरिक नागरिकता पाउन वञ्चित छन् । उनीहरुले बैंक खाता खोल्न पाएका छैनन् । पासपोर्ट बनाउन पाएका छैनन् । कलेज भर्ना गर्न पाएका छैनन् । यो राज्यको अपराध हो । त्यसैले गठबन्धनका घटकहरु पुरानै नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने सहमत भयौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
पूर्वमन्त्री समेत रहेका यादवले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिक विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लंघन गरेको आरोप पनि लगाए । उनले भने, ‘संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिलाई एकचोटि विधेयक प्रमाणीकरण नगरी फर्काउन सक्ने अधिकार थियो । तर अर्कोचोटि फर्काउने अधिकार थिएन । उहाँले राजनीतिक तरलताको लाभ उठाएर त्यसलाई होल्ड गर्नुभयो । त्यो त्रुटिलाई सच्चाउनु जरुरी छ ।’ नागरिकता विधेयक प्रमाणीकरण जनतासँग जोडिएकाले यसमा कुनै दलले विरोध गर्नुपर्ने आवश्यकता नरहेको पनि उनले औंल्याए ।
यादवले नेपालीलाई विदेशी शरणार्थी बनाउनु मानव तस्करी, संगठित अपराध र राष्ट्रघात भएको पनि बताए । उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणका महाअपराधीलाई न्यायको कठघरामा ल्याउनैपर्छ । हामी सदनदेखि सडकसम्म कारबाहीका लागि दबाब दिन्छौं । यसमा जोजो बचाउन लाग्छ, त्यो आफैं सकिन्छ जोगाउन खोज्नेलाई गाउँगाउँबाट लखेट्नुपर्छ ।’
आफ्नो पार्टी सरकार ढालेर राजनीति अस्थिरता मच्चाउने खेलमा नलागेको पनि उनले बताए । यादवले थपे, ‘भ्रष्टाचारको कारबाही थाल्नेबित्तिकै सरकार ढाल्ने हल्ला मच्चाइएको छ । हाम्रा पार्टी अध्यक्ष उपेन्द्र यादव सरकार ढाल्ने खेलमा लाग्नुभएको छैन । जसपा सरकार गिराउने पक्षमा छैन । जसपाबाट अर्को मन्त्री को बनाउने भन्ने प्रश्नमा उनले भने, छलफल चल्दै छ । यो हप्तामा टुंगिएला ।’