Logo

राष्ट्रिय योजना आयोगका सदस्य बुढाथोकीले लिए शपथ



काठमाडौं, २४ वैशाख । राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका डा. प्रभु बुढाथोकीले पद तथा गोपनियताको शपथ लिएका छन्। सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ समक्ष बुढाथोकीले आज शपथ लिएका हुन् । बुढाथोकी दोस्रो पटक आयोगको सदस्यमा नियुक्त भएका छन् ।

यसअघि डा. श्रेष्ठ उपाध्यक्ष रहेकै बेला बुढाथोकी आयोगको सदस्य थिए । सरकारले यही वैशाख ८ गते बुढाथोकीलाई सदस्य पदमा नियुक्त गरे पनि शपथ भने बाँकी थियो । बुढाथोकीले आजै पदभार ग्रहणसमेत गरेका छन् । आयोगको कामकारबाहीलाई सशक्त रुपमा अघि बढाउन अब उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा आफूले काम गर्ने उनले बताए ।

आयोगको सदस्यका रुपमा यसअघि नै डा. रामकुमार फुँयाल, डा. जयकान्त राउत, प्रा. डा. आरपी विच्छा र डा. रमेशचन्द्र पौडेलले जिम्बेवारी सम्हालिसकेका छन् ।

को हुन् बुढाथोकी ?

बुढाथोकी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा लामो अनुभव भएको व्यक्ति हुन्। रणनीतिक योजना तथा व्यवस्थापन तथा प्राकृतिक स्रोत व्यवस्थापनका विज्ञ बुढाथोकीले बेलायतको ‘रिसोर्स गभर्नेस’मा विद्यावारिधि गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट तथ्याङ्कशास्त्रमा स्नातक गर्नुभएका बुढाथोकीले भारत र बेलायतबाट छुट्टाछुट्टै विषयमा स्नात्तकोत्तर गरेका छन् ।

नेपाल बाहेक बुढाथोकीसँग इरान, बेलायत, बङ्गलादेशजस्ता मुलुकमा काम गरेको अनुभवसमेत छ । बुढाथोकीसित त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनको अनुभवका साथै युएनडिपी, युएसआईडी, युनेस्को जस्ता संस्थामा काम गरेको अनुभवसमेत छ । रासस



प्रतिक्रिया दिनुहोस्