Logo

नागरिकता विधेयकमा राष्ट्रपति चुप लागेर बस्न पाउनुहुन्न : कानुनविद्



काठमाडौं, २९ वैशाख । कानुनविद् रुद्र शर्माले राष्ट्रपति कार्यालयमा नागरिकता विधेयक अड्किँदा संवैधानिक जटिलता उत्पन्न भएको बताएका छन् ।
‘संसद्ले पास गरेर पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरे पनि हुने नगरे पनि हुने भयो भने भोलि संसदकै हैसियत के हुन्छ ? राष्ट्रपतिले आफ्नो इच्छाअनुसार संसदलाई चलाउन मिल्छ ? मुलुकमा रहेको संवैधानिक संकट कुनै न कुनै रुपमा पार लगाउनु पर्छ । यसमा राष्ट्रपति चुप लागेर बस्न पाउनुहुन्न,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै शर्माले भने ।
नागरिकता विधेयकमा विषयवस्तुभन्दा प्रक्रिया महत्त्वपूर्ण रहेको उनले औंल्याए । शर्माले थपे, ‘नयाँ संसदले नयाँ विधेयक ल्याओस्, त्यसमा हाम्रो आपत्ति भएन । तर सार्वभौम संसदबाट दुई‍-दुईचोटि पास भएको विधेयक कसको सम्पत्ति हो ? र, त्यो कहाँ हरायो ?’ उनले नागरिकता विधेयकले के कस्ता विषयवस्तु समेटेको छ भन्दा पनि संसदीय प्रक्रिया महत्त्वपूर्ण रहेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस्