Logo

नेता होइन, जनता बचाउने अभियानमा सरकार लागेको छः मन्त्री गुरुङ



काठमाडौं, ३० वैशाख । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले सरकार अहिले जनता बचाउने अभियानमा लागिरहेको बताएका छन् । उनले नेता बचाउने भन्दा पनि जनता बचाउने कुरा ठूलो रहेको बताएका हुन् ।

‘अहिलेको मन्त्रिपरिषद्को मुख्य कार्यभार सुशासन हो । सरकार त्यही अनुरुप अघि बढेको छ,’– मन्त्री गुरुङले भने ।

भुटानी शरणार्थी प्रकरण महाअपराध भएको भन्दै उनले यो सामान्य घटना नभएको बताए । उनले घटनामा संलग्न जो सुकै भए पनि कानुनी दायरामा ल्याइने बताए ।

‘भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण, लिङ्ग, क्षेत्र, राजनीति पार्टी हुँदैन भन्ने मान्यता स्थापना गर्न र सुशासन स्थापनाका लागि अहिलेको सरकार लागेको छ,’– उनले भने ।

शरणार्थीको विषयमा दवाब आइरहेको बताउँदै उनले जति सुकै दबाब आए पनि सुशासन स्थापना गर्ने बाटोमा सरकार अग्रसर हुने उनले बताए । नेपाली काङ्ग्रेसका उपसभापतिसमेत रहेका गुरुङले भ्रष्टाचारको मुद्धामा नेताहरु मुछिएको घटनाबारे पार्टीभित्र छलफल भइरहेको जानकारी दिए ।

काङ्ग्रेसको चाहना निष्पक्ष र स्वतन्त्र ढङ्गबाट छानबिनमा होस भन्ने रहेको उनको भनार्इ छ । छानविनका लागि सहयोग गर्नुपर्छ भन्ने कुरा पार्टीभित्र भएको उनले जानकारी दिए । अपराधीले उन्मुक्ति पाउनु हुँदैन भन्नेमा सरकार र पार्टी रहेको भन्दै उनले भ्रष्टचारमा मुछिएकालाई निलम्बन गर्नुपर्ने बिषयमा पार्टीभित्र छलफल नभएको बताए ।



प्रतिक्रिया दिनुहोस्