काठमाडौं, वैशाख ३१ । नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि ३ साना र २ ठुला विमान खरिद गर्ने भएको छ ।
हाल २ विमानले मात्र उडान भरिरहेको निगमले खुम्चिँदो आन्तरिक बजार विस्तार गर्न विमान थप्न लागेको हो ।
खरिद गरिने ३ साना (१९ सिटे) विमानले दुर्गममा र दुई ठूला (५६–७२ सिटे) विमानले सुगममा उडान भर्नेछन् । ३ वटा साना विमान खरिद गर्ने कार्ययोजना अघि बढाउन निगमले गठन गरेको उपसमितिले प्रतिवेदन पेश गरिसकेको छ ।
थप दुई विमान किन्न निगम सञ्चालन समितिले वरिष्ठ क्याप्टेन सुधिर शमशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको छ । उपसमितिले काम सुरू गरिसकेको निगमका प्रवक्ता रमेश पौडेलले बताए । आजको कारोबार दैनिकबाट