Logo

१० दिन पोखरामा लुकेर बसेका रायमाझी शनिबार काठमाडौं आएका थिए, आइतबार प्रहरी फन्दामा



काठमाडौं, ३१ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएको ११ दिनपछि आज (आइतबार) एमाले सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनलाई आज साँझ बुढानिलकण्ठको पासीकोटबाट पक्राउ गरिएको हो । उनी त्यहाँ आफ्नो पूरानो साथीको एक घरमा लुकेर बसेका थिए ।

पक्राउ परेका रायमाझीलाई अहिले काठमाडौं प्रहरी परिसर टेकु ल्याईएको छ । उनी १० दिनसम्म पोखरामा लुकेर बसेको प्रहरी उच्चस्रोतको दाबी छ। हिजोमात्रै उनी पोखराबाट स्थलमार्ग हुँदै काठमाडौं आईपुगेका थिए । काठमाडौं आएको भोलिपल्टै उनी प्रहरीको फन्दामा परेका हुन् । रायमाझीलाई पक्राउ गर्न प्रहरीको एक टोली काठमाडौंबाट परिचालित भएर पोखरा पुगेको थियो ।

रायमाझीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । यो प्रकरणमा रायमाझीका छोरा सन्दीप पनि पक्राउ परेका छन् । यस्तै, नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पनि पक्राउ परेका छन् ।

रायमाझी पक्राउ पर्नुअघि १२ जना अभियुक्तहरुमाथि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । रायमाझी पक्राउ परेसँगै यो प्रकरणमा अभियुक्तहरुको संख्या १३ पुगेको छ ।

अझै केहीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । रामबहादुर थापाका छोरा प्रतिकलगायत केहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्