Logo

नक्कली भुटानी शरणार्थी प्रकरण : कुन थुनुवा कहाँको हिरासतमा छन् ?



काठमाडौं, जेठ १ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गरेको अभियोगमा प्रहरीले उच्च तहका नेता र कर्मचारीसहित १३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ भने ३ जना फरार सूचीमा छन् । आइतबार संविधानसभा सदस्यसमेत रहेका कांग्रेस नेता आङटावा शेर्पा र पूर्वगृहमन्त्री रामबहादुर थाप (बादल) का छोरा प्रतीक थापालाई पक्राउ पुर्जी जारी गरेसँगै प्रहरीको फरार सूचीमा रहेकाको संख्या ३ पुगेको हो ।

उक्त प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईका साथसाथै केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ, खाँणका स्वकीय सचिव इन्द्र केसी, पूर्व गृहमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलगायत प्रहरी हिरासतमा छन् । हिरासतमा रहेका आरोपितहरूलाई जिल्ला अदालत काठमाडौंले आइतबार थप ४ दिन हिरातमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंलाई अनुसन्धान सकेर प्रतिवेदन बुझाउन भन्दै आरोपीहरूविरुद्ध अन्तिमपटक चार दिन म्याद थप गर्न जिल्ला अदालत, काठमाडौंलाई अनुरोध गरिएको जिल्ला सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले बताए। शनिबारदेखि लागू हुने गरी अन्तिमपटक चार दिनको म्याद थप गर्न प्रस्ताव गरिएको जानकारी दिँदै उनले भने– ‘संगठित अपराधको मुद्दा ६० दिनभित्र अदालतमा पु¥याइसक्नुपर्छ, त्यहीअनुसार हामीलाई अध्ययनका लागि पनि समय चाहिने हुँदा चार दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउन भनेका हौं ।’

उक्त ठगी प्रकरणमा संलग्नलाई रहेको आरोपमा पक्राउ पुर्जी जारी भएका तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजितका छोरा निरज राई र पूर्वसभासद एवं रामेछापका कांग्रेस नेता आङ्टावा शेर्पालाई खोजीको सूचीमा रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए।

कुन थुनुवा कहाँ छन् ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपितहरूलाई काठमाडौंस्थित प्रहरीका विभिन्न हिरासतमा छुट्टाछुट्टै राखेको बताइएको छ । प्रहरीका अनुसार बालकृष्ण खाँण र इन्द्रजित राईलाई जिल्ला प्रहरी परिसर टेकु, नरेन्द्र केसीलाई लैनचौर वृत्त र टेकनारायण पाण्डेलाई सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ ।

आइतबार राती पक्राउ परेका नेकपा (एमाले)का सचिव तथा पुर्वमन्त्री टोपबहादुर रायमाझी लैनचौरस्थित प्रहरी हिरासतमा राखिएको छ ।

यस्तै, सन्दीप रायमाझी, सागर राई, रामशरण केसी र गोविन्द चौधरीलाई प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ । त्यस्तै, सन्देश शर्मालाई दरबारमार्ग वृत्तको हिरासतमा राखिएको छ भने केशव दुलाललाई कालिमाटी वृत्तको हिरासतमा राखिएको छ । सानु भण्डारी र कुमार गुरुङलाई जनसेवा वृत्तको हिरासतमा राखिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्