काठमाडौं, १ जेठ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंह तथा पदाधिकारीहरु सम्मिलित संयुक्त टोलीले आज भेरी बहुमुखी क्याम्पस, गुमी भ्रमण गरी अनुगमन तथा अन्तरक्रिया गरेको छ । भेरी बहुमुखी क्याम्पसद्वारा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंह थिए । कार्यक्रमको अध्यक्षता क्याम्पसका क्याम्पस प्रमुख उप प्राध्यापक तुल बहादुर रानाले गरेका थिए ।
उक्त कार्यक्रममा विशेष अतिथि विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेल, अतिथि ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्रीका डीन प्रा. डा. विमल कुमार लाल कर्णज्यू, ग्र्याजुएट स्कुल अफ हुम्यानिटिज एण्ड सोसल साइन्सेजका डीन सह प्रा. डा. लिलाधर तिवारी, ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका डीन सह प्राध्यापक डा.सुदीप ठकुरी, योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक प्रा. डा. चन्द्र प्रसाद रिजाल, पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक सह प्रा. बीरबहादुर पौडेल, प्राचार्य उप प्राध्यापक जसबिर रोका, उपकुलपति तथा रजिष्ट्रार सचिवालयका सदस्य र कर्मचारी थिए । यस्तै, क्याम्पसका प्राध्यापक, कर्मचारी, जनप्रतिनिधि, विद्यार्थी, स्थानीय शिक्षाप्रेमी लगायतको उपस्थिति र अन्तरक्रियामा सहभागीता रहेको जनाईएको छ ।
अन्तरक्रिया कार्यक्रममा उपकुलपति प्रा. डा. सिंहले प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले राखेको गुनासा तथा समस्याहरुको सम्बोधन गरेका थिए । साथै, उपकुलपति सिंहले भेरी बहुमुखी क्याम्पसको समग्र शैक्षिक गुणस्तर विकास गर्न क्याम्पस पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थी सबैले इमान्दारिताका साथ लाग्नुपर्ने कुरामा जोड दिएका थिए।
अन्तरक्रिया कार्यक्रमपश्चात उपकुलपतिज्यू सम्मिलित पदाधिकारी तथा कर्मचारी टोलीले गुर्भाकोट नगरपालिका वार्ड नम्बर १३, गुमीस्थित भेरी बहुमुखी क्याम्पसको नवनिर्मणाधीन भवनको अवलोकन गरेको थियो ।
विश्वविद्यालयको नियमित कार्यक्रमको रुपमा सम्पूर्ण आंगिक क्याम्पसहरुको अनुगमन भ्रमण गर्ने योजना अनुरुप दोस्रो दिन अर्थात २०८० जेष्ठ २ गते भेरी ज्ञानोद्दय बहुमुखी क्याम्पस, जाजरकोट, जेष्ठ ३ गते मुसिकोट खलंगा बहुमुखी क्याम्पस, रुकुम र जेष्ठ ४ गते जलजला बहुमुखी क्याम्पस, रोल्पाको अनुगमन भ्रमण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
यस भ्रमणपश्चात प्राप्त सुझाव एवं तथ्यगत अवलोकनको आधारमा सम्बन्धित क्याम्पसहरुमा गर्नुपर्ने आवश्यक सुधार एवं बिबिध शैक्षिक गतिविधिहरु संचालन गरिनेछ साथै क्याम्पस तहका भावी विकास निर्माणका योजना समेत तर्जुमा गरिने जनाईएको छ ।