Logo

दावगह्रा बसपार्क सञ्चालन गर्न पहल



बलेवा, २ जेठ । बागलुङ नगरपालिका–४ मा निर्माण गरिएको आधुनिक दावगह्रा बसपार्क सञ्चालनका लागि पहल सुरु भएको छ । प्राविधिक र कानुनी समस्याका कारण सञ्चालनमा आउन नसकेको बसपार्क सञ्चालनका लागि नगरपालिकाले पहल थालेको हो ।

बसपार्क निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका जग्गादातालाई बाँकी जग्गा फिर्ताको काम बाँकी छ । बसपार्कमा अपुग संरचना निर्माणको काम र बसपार्क सञ्चालनका लागि सरोकारवालासँग छलफलको कामलाई तत्काल अघि बढाउन नगरपालिका तयार भएको हो । सोमबार सरोकारवाला, जग्गादाता तथा सर्वसाधारणबीच सार्वजनिक सुनुवाइ गरेर तत्काल बसपार्क सञ्चालनमा ल्याउन काम थाल्ने निष्कर्षमा पुगेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।

“जग्गातादाले एकीकृत गरेर दिएको जग्गामा बसपार्क बनेको छ, बाँकी जग्गा फिर्ता गर्नुपर्ने छ, त्यही जग्गामा निर्मित संरचना र फालिएको माटोका विषयमा अख्तियारमा मुद्दा छ”, उनले भने, “फिर्ता गर्नुपर्ने जग्गाको माटो व्यवस्थापनबारे अख्तियारको पत्र प्राप्त भएको छ, जनसमुदायले काम सुरु गर्नुस् भनेपछि अब काम थाल्छौँ ।”

एकीकृत गरिएको झण्डै ६० रोपनी जग्गामध्ये १७ दशमलव आठ रोपनी जग्गामा बसपार्क बनेको छ भने बाँकी जग्गा कित्ताकाट गरेर दातालाई फिर्ता गर्ने सहमति छ । बाँकी रहेको जग्गामा फ्याँकिएको माटो व्यवस्थापनका विषयमा विवाद थियो । बसपार्क निर्माण कम्पनी ‘आशिष फेवा जेभी’ले तीन सय मिटर टाढा फ्याँक्नुपर्ने माटो बाँकी रहेको जग्गामा फ्याँकेको र त्यही माटो पन्छाउनका लागि अर्को ठेक्का लागेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

माटो पन्छाउने जिम्मेवारी पाएको तिलक निर्माण सेवालाई काममा रोक लगाइएपछि जग्गाको कित्ताकाटलगायतका काम रोकिएका थिए । “तिलक निर्माण सेवालाई काम गर्ने वातावरण हामीले बनाउँछौँ, ‘आशिष फेवा जेभी’ले तोकिएको माटो बाहिर फालेको हो होइन प्राविधिक हिसाबमा खोजी गरेर बाँकी रकम भुक्तानी गर्छौँ”, नगरप्रमुख श्रेष्ठले भने, “माटो व्यवस्थापनपछि कम्तीमा जग्गाको कित्ताकाट गरेर दातालाई फिर्ता गर्ने र बाँकी संरचना बनाउने काम सुरु हुने छ ।”

जग्गादातालाई बाँकी जग्गा फिर्तापछि बसपार्क सञ्चालनको बाटो फुक्ने उहाँले बताउनुभयो । बसपार्कका लागि पहुँचमार्गलगायतका संरचनाका लागि काम गर्न तयार रहेको उनले बताए । जग्गा व्यवस्थापन समितिका सचिव ध्रुवबहादुर केसीले बाँकी जग्गाको कित्ताकाट गर्ने काम चुनौतीपूर्ण रहेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताए । उनले नगरपालिकाले जग्गादातासँग भएको सहमतिअनुसारका संरचना बाँकी जग्गामा बनाउनुपर्ने बताए ।

बसपार्क नगर विकास कोषको रु आठ करोड ७० लाख ऋण लगानीमा निर्माण गरिएको थियो । बसपार्कको आशिष फेवा जेभीले निर्माणको ठेक्का लिएर काम गरेको थियो । आधुनिक बसपार्कसँगै यहाँ टर्मिनल, व्यापारिक भवन, भूमिगत ट्याक्सी तथा मोटरसाइकल पार्किङ र ग्यारेज निर्माण गरिएको छ । यहाँ ६० ठूला बस, १० माइक्रोबस एकैसाथ अटाउने जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्