Logo

पार्टी विभाजनको परिकल्पना गरेका छैनौं : कांग्रेस नेता



काठमाडौं, ३ जेठ । नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले आफूहरु यथास्थितिमा पार्टी अगाडि बढ्न सक्दैन भनेर सुधारका लागि अघि बढेको बताएका छन् ।
‘१० महिनासम्म पार्टी केन्द्रीय समितिको बैठक बसेको छैन । ठूलठूला प्रकरणमा पार्टीको आधिकारिक धारणा आउन सकेको छैन । पार्टी तदर्थवादमा चलेको छ । त्यसको पहल त कसै न कसैले लिनुपर्यो भनेर पार्टीको व्यापक सुधारका लागि हामी अघि बढेका हौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
नेता खड्काले आफूहरुको अभियान पार्टी विभाजनका लागि नभएको पनि औंल्याए । उनले भने, ‘हाम्रो उद्देश्य कांग्रेसको सुधार हो । यो कसैलाई हटाउने वा कसैलाई घटाउने अभियान होइन । पार्टी सभापतिलाई समेत क्रियाशील बनाउने अभियान हो । यो अभियान पार्टी विभाजनका लागि होइन । त्यसको परिकल्पना नै छैन ।’ आफूहरु असल नियतका साथ पार्टीको संस्थागत विकासमा लागेको पनि उनले बताए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्काल पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाएर आफ्नो धारणा स्पष्ट पार्नुपर्नेमा खड्काले जोड दिए । उनले भने, ‘माथिल्लो ओहदामा पुगेका मानिसहरु भ्रष्टाचार त गर्थे गर्थे, अब मानव तस्करी पनि गर्न थालेछन् । त्यसमा पार्टीले आफ्नो धारणा बनाउनु पर्दैन ? दोषी जोसुकै होस्, गल्ती गरेको छ भने दण्डित गर्नुपर्छ । दूधको दूध. पानीको पानी हुनुपर्छ ।’

 



प्रतिक्रिया दिनुहोस्